नयाँ वर्षको उत्साह: भक्तपुर र थिमिमा बिस्केट जात्राको भव्य रौनक, हजारौँ भक्तजनको घुइँचो (तस्बिरहरू)

भक्तपुर, १ वैशाख । नयाँ वर्ष २०८३ को पहिलो दिन भक्तपुर र मध्यपुर थिमिमा ऐतिहासिक एवं प्रसिद्ध बिस्काः जात्राको भव्य रौनक छाएको छ । परापूर्वकालदेखि चल्दै आएको तान्त्रिक महत्त्वको यो जात्रा र नयाँ वर्षको खुसीयाली मनाउन भक्तपुरका विभिन्न शक्तिपीठ र जात्रास्थलहरूमा भक्तजनको विशाल घुइँचो लागेको छ ।

भक्तपुरको भेलुखेलस्थित ल्यासिंखेलमा चैत मसान्तको साँझ उठाइएको ५५ हात लामो प्रसिद्ध लिङ्गो (ल्योसिंद्य) हेर्न बिहानैदेखि मानिसहरूको भिड लागेको छ । इन्द्रध्वजासहितको यो विशाल लिङ्गो हेर्दा शत्रु नाश हुने र सहकाल (सुख-समृद्धि) आउने धार्मिक जनविश्वास रहेको छ । हिजो साँझ तान्त्रिक विधिबाट उठाइएको यो लिङ्गोलाई आज दिनभर मेला लागेपछि साँझ विधिवत् रूपमा ढालिने परम्परा छ । यो जात्रा हेर्न भक्तपुरसहित काठमाडौँ, ललितपुर र काभ्रेपलाञ्चोकबाट समेत हजारौँको सङ्ख्यामा श्रद्धालुहरू पुगेका छन् ।

आजै भक्तपुरको दधिकोट र सिरुटारको सङ्गममा रहेको प्रसिद्ध चरखण्डी महादेव मन्दिरमा विशेष मेला लागेको छ । चरखण्डीको कुण्डमा स्नान गरी महादेवको पूजा गरेमा चर्मरोग निको हुने र शारीरिक कष्ट हट्ने विश्वासका कारण बिहान ४ बजेदेखि नै कुण्डमा नुहाउनेहरूको लाम लागेको थियो ।

यस अवसरमा कतिपय युवाहरूले पाप मोचन र पुण्य प्राप्तिको कामना गर्दै शरीरमा बत्ती बालेर भक्तिपूर्वक बसेका थिए । दधिकोटको चित्रपुरस्थित छुमा गणेश मन्दिर र सिरुटारको गुप्तेश्वर महादेव मन्दिरमा समेत छुट्टाछुट्टै खट जात्रा गरी बिस्केट जात्रा मनाइएको छ ।

मध्यपुर थिमिमा चैत मसान्तको साँझबाट सुरु भएको ‘चान्हेसिया’ अर्थात् रात्रिकालीन जात्रा आज बिहान सम्पन्न भएको छ । बालकुमारीलाई थिमिको लायकू दरबारबाट ल्याएर विराजमान गराएपछि सुरु भएको उक्त जात्रामा घरघरबाट चिराग बालेर र धिमे बजाएर नगर परिक्रमा गरिएको थियो ।

यसैगरी, आज थिमिमा प्रसिद्ध विष्णुवीर र सिद्धिकाली जात्रा समेत धुमधामका साथ मनाइएको छ । विष्णुवीरको खटलाई सुङ्गाटोलबाट पाङ्गु टोलतर्फ लैजाँदा नेवारी परम्पराअनुसार ‘सिं बाजा’ (मान्छे मर्दा बजाइने बाजा) बजाएर लैजाने अनौठो र पुरानो प्रचलनले जात्राको छुट्टै पहिचान दिएको छ । सिन्दूर जात्रा (सुथः सिया) सँगै विष्णुवीर, दक्षिण बाराही र बालकुमारी लगायतका देवगणहरूलाई सिन्दूर अर्पण गरी आ–आफ्नो स्थानमा विराजमान गराएपछि आजको जात्रा विसर्जन गरिनेछ ।

भक्तपुर र थिमिका यी विभिन्न जात्राहरूले नयाँ वर्षको पहिलो दिनलाई उत्सवमय बनाएका छन् । जात्रालाई मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न स्थानीय क्लबहरू र सुरक्षा निकायले विशेष सक्रियता देखाएका छन् ।