आर्थिक अनियमितताको छानबिनका लागि एन्फा पदाधिकारीलाई विदेश जान रोक

काठमाडौँ, १३ वैशाख । राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट निलम्बनमा परेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीहरूलाई विदेश जान रोक लगाइएको छ।

एन्फाभित्र भएको भनिएको आर्थिक अनियमितताको छानबिन प्रभावित नहोस् भन्नका लागि सबै पदाधिकारीको राहदानी (पासपोर्ट) रोक्का गरी विदेश भ्रमणमा प्रतिबन्ध लगाइएको युवा तथा खेलकुद मन्त्रालय स्रोतले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको पत्रका आधारमा खेलकुद मन्त्रालयको निर्देशनपछि राखेपले एन्फाको आर्थिक विषयमा अनुसन्धान अघि बढाएको हो। यसका लागि राखेपका कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरिएको राखेपका सदस्य सचिव रामचरित्र मेहताले जानकारी दिए।

छानबिन प्रक्रिया सुरु भएसँगै राखेपले एन्फा पदाधिकारीहरूको राहदानी रोक्का राख्न खेलकुद मन्त्रालयलाई सिफारिस पत्र पठाएको थियो। सोही सिफारिसका आधारमा खेलकुद मन्त्रालयले गृह मन्त्रालयमार्फत पत्राचार गरेपछि अध्यागमन विभागले उनीहरूको राहदानी रोक्का गरेको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *