इजरायली आमाको सम्मानमा कादम्बरीको ‘ईमा’ विमोचन, केयरगिभरको ‘मुटछुने कथा’ भन्दै पूर्वराजदूतबाट प्रशंसा

काठमाडौं ४ जेठ । नेपाल चलचित्र विकास वोर्डको हलमा आइतबार अलिक फरक खालको दृष्य देखियो । हलको भित्तामा एउटा व्यानर टाँगिएको थियो । व्यानरमा लेखिएको नारा ‘नेपाल इजरायलको सम्वन्ध रोजगारी मात्रै होइन, यहाँ मन र मानवताको नाता गाँसिएको छ’ ले धेरैलाई आकर्षित गरेको थियो । अनि त्यहि व्यानरमा लेखिएको थियो । आमाप्रतिको सम्मान र भावना समेटिएको ‘ईमा’ पुस्तक विमोचन कार्यक्रम । ‘हिबु्र’ भाषामा ईमाको अर्थ आमा हुन्छ ।

हो, त्यहि आमा पुस्तक इजरायलका लागि पूर्व नेपाली राजदूत एवं राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्यको प्रमुख आथित्यतामा विमोचन गर्ने कार्यक्रम त्यहाँ थियो । कार्यक्रमा इजरायली राजदुत स्मुलिक एरिबास मात्रै होइन उहाँ आफ्नी धर्मपत्नी मीरव पेलेगसहित सोही कार्यक्रममा पुग्नु भएको थियो । पुस्तकका लेखकचाँहि आज भन्दा करीब २२ वर्ष अघि नेपाल छाडेर इजरायलको माटो टेकेकी कादम्बरी दाना श्रेष्ठ हुनुहुन्थ्यो । कुनै समय केयर गिभरको मात्रै परिचयकी कादम्बरीले खेलाडी र कलाकारको पनि पहिचान बनाउनु भएको छ । अहिले पुस्तक प्रकाशनसँगै उहाँको परिचय लेखकमा पनि थपिएको छ ।

कादम्बरीले इजरायली भूमिमा जीवनका ऊर्जाशील १७ वर्ष एउटा केयरगिभरको रूपमा मात्रै बिताउनु भएन । त्यहि बिरानो भूमिमा लामो समय आफूले हेरचाह गरेकी इप्लोयर माया वाइन (आमा)को मृत्युपछि भावविह्व हुनु भएकी कादम्बरीले नेपाल फर्किएर उहाँकै सम्झना र सम्मानमा त्यहाँका अनुभव, संघर्ष, पीडा, खुशी सबैलाई समेटेर लामो प्रयासपछि एउटा पुस्तक आकार दिनुभयो र त्यहि पुस्तकको नाम राख्नुभयो ‘ईमा’ अर्थात आमा ।

आमा शब्द त्यसै पनि अमूल्य शब्द हो । आफूले लामो समय विदेशी भूमिमा हेरचाह गरेकी आमाको मृत्युपछि नेपाल फर्किएर उहाँकै सम्मानमा श्रध्दान्जली पाठ भनेर प्रकाशन गरेको उक्त पुस्तक कादम्बरीको पहिलो पुस्तक पनि हो ।

कादम्बरीले पनि इजरायलमा बसेका नेपालीको भावना बुझ्ने व्यक्ति शाक्य नै भएका कारणले पनि होला आफ्नो पुस्तक विमोचन कार्यक्रममा पनि प्रमुख अतिथिको रुपमा शाक्यलाई नै निम्ता गर्नुभएको थियो । हो, शाक्य जति समय इजरायलमा बस्नुभयो । ती सबै समय नेपाल–इजरायलबिचको कुटनीतिक सम्वन्धलाई थप बलियो बनाउन र त्यहाँ रहेका नेपाली कामदारको सुख–दुःखको साथी भएर बिताउनुभयो । अहिले करीब २२ वर्ष काम गरेर नेपाल फर्किनु भएकी कादम्बरी र उहाँको टीम नयाँ सपना पनि साथमै लिएर फर्किएको छ भने इजरायलका लागि पूर्व नेपाली राजदूत डा. अन्जान पनि नेपालमै हुनुहुन्छ । नयाँ सपना बोकेर नेपाली फकिर्एकाको कादम्बरीको टीमलाई हौसला दिन हरेक कार्यक्रममा पुग्ने शाक्य पुस्तक विमोचन कार्यक्रमा पनि पूमुख अतिथिको निम्तोसहित पुग्नु भएको थियो । विमोचनपछि प्रमुख अतिथिको तर्फबाट मन्तव्य राख्दै शाक्यले सुरुमै कादम्बरीकी आमा मात्रै होइन कादम्बरीले नै इजरायलमा हेरचाह गरेकी आमाले पनि कादम्बरी जस्तो छोरी प्राप्त गर्नु उनीहरु भाग्यमानी भएको उल्लेख गर्नुभयो ।

अरुबेला कुटनीतिकका मामिलामा बढी सम्वोधन गर्ने शाक्यले आइतबार ‘ईमा’ पुस्तक विमोचनमा पनि पुस्तक, आमा र इजरायलमा काम गर्ने नेपालीका विषयमा बढी केन्द्रित भएर सम्वोधन गर्नुभयो । शाक्यले सम्वोधनका क्रममा माया, हेरचाह र सम्मान सबै भन्दा ठूलो कुरा भएको भन्दै इजरायलमा पुगेर कियरगिभरको काम गर्ने नेपालीहरु त्यहाँका परिवारको पनि अभिन्न सदस्य भएको भन्दै शाक्यले उक्त पुस्तक इजरायल पुगेका रहेक कियरगिभरको अनुभव, संघर्ष र त्यहाँका साहराबिहीन आमा–बुबाको रहेचाहका क्रममा प्राप्त गरेको अनुभवको दस्तावेज भएको उल्लेख गर्नुभयो ।

त्यसैले उक्त पुस्तक कादम्बरी दाना श्रेष्ठ र केयर गिभरहरुका लागि मात्रै होइन सबै इजरायलमा बसेर संघर्ष गर्ने हरेक नेपालीहरुका लागि र इजरायल बाहिर रहेका नेपालीहरुका लागि पनि धेरै कुरा सिकाउने महत्वपूर्ण पुस्तक भएको उल्लेख गर्नुभयो । उहाँले उक्त पुस्तक छोटो शब्दमा भन्दा ‘मुटुछुने पुस्तक’ भएको भन्दै नेपालबाट इजरायल पुगेका रहेक केयरगिभर श्रमिक मात्र होइन उनीहरु त्यो परिवारको एक जिम्मेवार सदस्य पनि भएको उल्लेख गर्नुभयो । उहाँले कादम्बरीको पुस्तकले साहराबिहीन अभिभावकहरुको हेरचाह मात्रै सबै कुरा नभएको भन्दै उनीहरुप्रति देखाउने मायाप्रेम र सम्मान पनि महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिएको पनि उल्लेख गर्नुभयो । ‘केयर गिभरले साच्चिकै आफ्नै सन्तानले अभिभावकलाई गर्ने हेरचाह, प्रेम र सम्मान गरिरहेका हुन्छन् । उहाँहरु खुशी हुनुभएको छ कि छैन भन्ने मात्रै होइन ।

उहाँहरुलाई सानो कुराले पनि खुशी बनाउँछ भने त्यो के–हो ? भन्ने कुरा पनि ध्यान दिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘केयरगिभरले उहाँहरुले राम्रोसँग खाइरहनु भएको छ कि छैन ? सुतिरहनु भएको छ कि छैन ? यो कुरामा पनि ध्यान दिइरहनु भएको हुन्छ । त्यसैले उहाँहरु भनेको भाग्यमानी बुबाआमा हो ।’ शाक्यले उहाँहरुका अनुभवहरु पनि सुन्ने गर्नुपर्छ भन्दै कादम्बरीको पुस्तकमा त्यस्ता विषयबस्तु पनि समेटिएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

केयरगिभर भनेको दुई देशबिचको अनुभव, संस्कृति, परम्परा र बानीव्यहोरा आदनप्रदान गर्ने माध्ययम पनि हो भन्दै उहाँले डाक्टर शाक्यका कुरा ध्यानदिएर सुनिरहनु भएका इजरायली राजदुत स्मुलिक एरिबासलाई इजरायली दूतावासले इजरायलमा काम गरेर फर्किएका नेपालीहरुले गर्ने हरेक गतिविधिमा गरेको सहयोगको प्रशंसा गर्नुभयो । कादम्बरी पनि आफ्ना संघर्षको कथालाई पुस्तकाकार दिएर विमोचन गर्न पाउँदा पटक–पटक भावुक हुनुभएको थियो । इजरायली राजदुत स्मुलिक एरिबासले पनि कादम्बरीको पुस्तक र उहाँको संघर्षको खुलेर प्रशंसा गर्नुभयो । नेपालीहरु आँटिला, मेहनती, इमानदार र लगनशील हुने भन्दै उहाँले प्रशंसा गर्नुभयो ।

कादम्बरीको मात्रै होइन, बिष्णु कार्की, निर्मला गुरुङ, पेम्बा डोल्मा ह्योल्मो, सम्झना मल्ल श्रेष्ठलगायत पनि अहिले नेपाल फर्किसक्नु भएको छ । करीब २० वर्ष काम गरेर नेपाल फर्किनु भएकी कादम्बरी र उहाँको टीम त्यतिबेला नेपाल फर्किदैँ गर्दा एउटा नयाँ सपना पनि साथमै लिएर फर्किएको थियो । त्यो सपनाको आधार भने तत्कालिन इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले बुनिदिनु भएको थियो । राजदूत शाक्यले इजरायलमा बुनिदिएको सपनाको आधार थियो ‘क्याच एन सर्भ बल’ खेलका माध्ययमबाट नेपाललाई विश्व सामू परिचित गराउने । उहाँहरुले इजरायलको माटो छाड्दै गर्दा बोकेको सपना र गरेको प्रतिवद्धताले लामो संघर्ष र अनवरत प्रयासपछि अहिले मूर्तरुप प्राप्त गरेको छ ।