उच्च रक्तचाप नियन्त्रणमा ८०० वर्ष पुरानो चिनियाँ व्यायाम प्रभावकारी, औषधिको विकल्प बन्न सक्ने नयाँ अध्ययनको निष्कर्ष
काठमाडौँ, ३ जेठ । वर्षौँदेखि चिनियाँ संस्कृतिमा प्रचलित एक प्राचीन व्यायाम पद्धति उच्च रक्तचाप नियन्त्रणका लागि केही आधुनिक औषधिहरू जत्तिकै प्रभावशाली रहेको एक नयाँ अध्ययनले देखाएको छ। ‘बाडुआनजिन’ नामक यो व्यायामले घरमै बसेर सुरक्षित रूपमा रक्तचाप घटाउन मद्दत गर्ने अनुसन्धानकर्ताहरूको दाबी छ।
के हो बाडुआनजिन?
बाडुआनजिन करिब ८०० वर्ष पुरानो चिनियाँ परम्परागत व्यायाम हो। यसमा आठ प्रकारका सुस्त शारीरिक चालहरू, गहिरो श्वासप्रश्वास र ध्यान को सन्तुलन मिलाइन्छ। यो व्यायाम पुरा गर्न मात्र १० मिनेट लाग्छ, जसले गर्दा व्यस्त जीवनशैली भएका व्यक्तिहरूका लागि यो निकै उपयोगी मानिएको छ।
अध्ययनको नतिजा
‘अमेरिकन कलेज अफ कार्डियोलोजी’ मा प्रकाशित प्रतिवेदन अनुसार, ४० वर्षभन्दा माथिका २१६ जना ‘स्टेज-१’ उच्च रक्तचाप भएका बिरामीहरूमा एक वर्षसम्म यो परीक्षण गरिएको थियो। सहभागीहरूलाई तीन समूहमा विभाजन गरी बाडुआनजिन, छिटो हिँड्ने (brisk walking) र सामान्य शारीरिक व्यायाम गर्न लगाइएको थियो।
अनुसन्धानले देखाए अनुसार, हप्तामा पाँच पटक बाडुआनजिन अभ्यास गर्ने व्यक्तिहरूको रक्तचाप तीन महिनाभित्रै उल्लेख्य रूपमा घटेको पाइयो। यो सुधार केही पहिलो श्रेणीका (first-line) उच्च रक्तचाप विरुद्धका औषधिहरूले दिने नतिजासँग मिल्दोजुल्दो रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्।
विज्ञहरूको धारणा
वरिष्ठ अनुसन्धानकर्ता डा. जिङ लीका अनुसार यो व्यायाम सरल, सुरक्षित र जोकोहीले सजिलै अपनाउन सक्ने खालको छ। अध्ययनमा संलग्न नभएका मुटु रोग विशेषज्ञ डा. म्याथ्यु सेबोटले यसको नतिजा देखेर अचम्मित भएको बताएका छन्। उनले भने, “मलाई लागेको थियो कि छिटो हिँड्ने जस्ता तीव्र व्यायाम बढी प्रभावकारी हुन्छन्, तर बाडुआनजिनको प्रभाव पनि उस्तै देखियो।”
अर्का विशेषज्ञ डा. एन्टोनी चुले पूर्वीय र पश्चिमा चिकित्सा पद्धतिको भिन्नता उल्लेख गर्दै भने, “पश्चिमा चिकित्साले रोग लागेपछि उपचारमा जोड दिन्छ भने पूर्वीय पद्धतिले रोग लाग्नै नदिने (निवारक) उपायमा ध्यान दिन्छ।” उनका अनुसार मानिसहरू आजभोलि अत्यधिक तनावमा छन् र यो व्यायामले स्नायु प्रणालीलाई शान्त पारी तनाव कम गर्न ठुलो भूमिका खेल्छ।
किन गर्ने त यो व्यायाम?
उच्च रक्तचापको समयमै उपचार नभएमा मस्तिष्कघात (stroke), हृदयघात (heart attack) र मिर्गौला फेल हुने जस्ता गम्भीर जोखिम निम्तिन सक्छन्। चिकित्सकहरूका अनुसार केवल १० मिनेट आफ्नो कार्यकक्षको ढोका थुनेर, गहिरो श्वास फेर्दै हातगोडा चलाउने यो सरल विधिले जीवनभर औषधिको भर पर्नुपर्ने अवस्थालाई टार्न सक्छ।
यो अध्ययनले औषधिको विकल्पका रूपमा प्राकृतिक जीवनशैली परिवर्तन र प्राचीन अभ्यासहरूको महत्त्वलाई पुन: पुष्टि गरेको छ।