इजरायल रोजगारीमा अन्योल : पुराना उम्मेदवारलाई प्राथमिकता दिन माग गर्दै माइतीघरमा युवाको प्रदर्शन
काठमाडौँ, ५ जेठ । इजरायल रोजगारीका लागि लामो समयदेखि प्रक्रिया पूरा गरेर प्रतिक्षामा रहेका नेपाली युवाहरू सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सडकमा उत्रिएका छन् । इजरायल जाने प्रक्रिया अन्योलमा परेको र नयाँ कोटामा आफूहरूको सुनिश्चितता नभएको भन्दै उनीहरूले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
वि.सं. २०८१ मा भएको गोलाप्रथा (लकी ड्र) मा छनोट हुन नसकेका तर योग्यता पुगेका उम्मेदवारहरूले आफूहरूलाई आगामी कोटामा स्वतः समावेश गरिनुपर्ने माग राख्दै आएका छन् । यसअघि वैदेशिक रोजगार विभागका अधिकारीहरूले पुराना उम्मेदवारलाई प्राथमिकता दिने आश्वासन दिए पनि हालसम्म आधिकारिक सूचना सार्वजनिक नहुँदा युवाहरू चिन्तित बनेका हुन् ।
पछिल्लो समय इजरायलका लागि करिब २ हजार ३०० नयाँ कोटा खुल्ने र त्यसका लागि सबैले पुनः प्रारम्भिक चरणबाटै नयाँ गोलाप्रथामा सहभागी हुनुपर्ने समाचार सार्वजनिक भएपछि युवाहरू आन्दोलित भएका हुन् । प्रदर्शनकारीहरूका अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी दुई वर्षदेखि पर्खाइमा बसेकाहरूलाई फेरि नयाँ प्रतिस्पर्धामा धकेल्नु मानसिक र आर्थिक रूपमा अन्यायपूर्ण छ ।
आन्दोलित युवाहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई यस विषयमा गम्भीर बन्न आग्रह गरेका छन् । उनीहरूले विगतका योग्य उम्मेदवारहरूका लागि छुट्टै कोटा सुरक्षित गर्न वा उनीहरूलाई प्राथमिकताका साथ इजरायल पठाउने व्यवस्था गर्न माग गरेका छन् ।