म्याग्दी, मुस्ताङ र पर्वतमा १२ करोडका १७ आयोजना कार्यान्वयनमा : दग्नाम पहिरो नियन्त्रणलाई प्राथमिकता

काठमाडौँ, जेठ ७ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत म्याग्दी, मुस्ताङ र पर्वत जिल्लामा चालु आर्थिक वर्ष २०८२/८३ मा करिब १२ करोड रुपैयाँ लागतका १७ वटा आयोजनाहरू कार्यान्वयन प्रक्रियामा रहेका छन् ।

आयोजना कार्यालयका अनुसार तीन जिल्लामा गरी कुल ११ करोड ९३ लाख ७३ हजार ७४३ रुपैयाँमा विभिन्न निर्माण कम्पनीहरूसँग ठेक्का सम्झौता भई काम अगाडि बढेको हो । यस अन्तर्गत मुस्ताङमा १०, म्याग्दीमा ४ र पर्वतमा ३ वटा योजनाहरू रहेका छन् ।

म्याग्दीका योजनाहरू
म्याग्दी जिल्लामा मात्रै चारवटा महत्वपूर्ण योजनाहरू सञ्चालनमा छन् । जसमध्ये रघुगङ्गा गाउँपालिका–४ दग्नामको पहिरो नियन्त्रणका लागि २ करोड २५ लाख ६९ हजार ९२९ रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, बेनी नगरपालिका-७ मङ्गलाघाट बस्ती संरक्षणका लागि ९९ लाख १९ हजार २९५, अन्नपूर्ण गाउँपालिका-३ दानाको घट्टेखोला संरक्षणका लागि ८७ लाख ४४ हजार ९८२ र अन्नपूर्ण-४ घराप बस्ती संरक्षणका लागि १ करोड ९ लाख १६ हजार ७६० रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

मुस्ताङ र पर्वतको अवस्था
मुस्ताङमा कागबेनी बस्ती संरक्षण (१ करोड ९१ लाख ४३ हजार), लार्जुङखोला संरक्षण, लुप्रा गाउँ संरक्षण र तिरिगाउँ स्याउ बगैँचा संरक्षण लगायतका १० वटा योजना कार्यान्वयन भइरहेका छन् । यस्तै, पर्वतमा फलेवासको लमायखोलामा बहुउद्देश्यीय तलाउ निर्माण, कुश्माको माझीखोला सिँचाइ र जलजलाको मिलनचोकमा लुङ्दीखोला संरक्षण योजना सञ्चालनमा छन् ।

असारभित्रै सम्पन्न गर्ने लक्ष्य
आयोजनाका इन्जिनियर नरजङ्ग गुरुङका अनुसार विसं २०८२ माघदेखि चैत महिनाभित्र ठेक्का सम्झौता भएका यी सबै योजनाहरू चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

“निर्माण व्यवसायीहरू कार्यक्षेत्रमा परिचालन भइसकेका छन् र काम धमाधम भइरहेको छ,” इन्जिनियर गुरुङले भन्नुभयो, “ठेक्काको म्याद आगामी असार १९ गतेसम्म रहेकाले सोही अवधिभित्र कार्य सम्पन्न गर्ने गरी तयारी गरिएको छ ।” यी पूर्वाधार निर्माणपछि सम्बन्धित क्षेत्रमा बाढी–पहिरोको जोखिम न्यूनीकरण हुनुका साथै सिँचाइ सुविधामा समेत सुधार आउने अपेक्षा गरिएको छ ।