प्रधानमन्त्रीले सदनको अपमान गरे, नियतमाथि शङ्का छ : नेकपा एमाले

काठमाडौँ, ७ जेठ । नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको कार्यशैली र नियतमाथि गम्भीर प्रश्न उठाएको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीले संसद्लाई छल्न खोजेको र सार्वभौम सदनको अपमान गरेको आरोप लगाउनुभयो ।

सम्बोधनका क्रममा प्रमुख सचेतक महरले सरकार संसद्प्रति उत्तरदायी हुनुपर्ने संवैधानिक व्यवस्थाको स्मरण गराउनुभयो । “अहिले जनमतको हुर्मत लिने काम भइरहेको छ,” महरले भन्नुभयो, “नेपालको संविधानको धारा ७६ को उपधारा १० बमोजिम सरकार सदनप्रति अनिवार्य रूपमा उत्तरदायी बन्नुपर्छ । जनताका आवाजहरू सुन्ने र त्यसको जवाफ दिने दायित्वबाट प्रधानमन्त्री भाग्न मिल्दैन ।”

उहाँले प्रतिनिधि सभा नियमावली २०७९ को नियम ५६ मा गरिएको व्यवस्थालाई सरकारले पूर्ण रूपमा अनदेखा गरेको जिकिर गर्नुभयो । नियमावलीको पालना नगरी र संसद्लाई बेवास्ता गरेर सदनको कामकारबाही अगाडि बढ्न नसक्ने अडान एमालेले राखेको छ ।

प्रधानमन्त्रीको उपस्थितिलाई लिएर एमाले मात्र नभई अन्य दलका सांसदहरूले पनि विरोध जनाएका छन् । नेकपाका युवराज दुलाल, श्रम संस्कृति पार्टीका आरेन राई र राप्रपाकी खुश्वु ओलीले पनि प्रधानमन्त्री सदनमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने माग राख्नुभयो । विपक्षी र अन्य दलहरूको चर्को विरोधका कारण आजको सदनको वातावरण केही बेर तनावपूर्ण बनेको थियो ।