काठमाडौँ महानगर वडा नं. १२ द्वारा स्नातक र स्नातकोत्तर उत्तीर्ण वडावासीलाई सम्मान गरिने : जेठ ११ भित्र कागजात बुझाउन आह्वान

काठमाडौँ, जेठ ७ । काठमाडौँ महानगरपालिका वडा नं. १२ ले आफ्नो वडाका शैक्षिक तथा व्यावसायिक व्यक्तित्वहरूलाई सम्मान गर्ने भएको छ । वडाले स्नातक तह उत्तीर्ण गरी विभिन्न पेसामा आबद्ध पेसाकर्मीहरू र स्नातकोत्तर तह (Master’s Degree) उत्तीर्ण गरेका सबै वडावासीहरूलाई सम्मान गर्ने घोषणा गरेको हो ।

वडाध्यक्ष एवं महानगरपालिकाको वातावरण समितिका संयोजक बालकृष्ण महर्जनले वडावासीको व्यक्तित्व र पेसागत पहिचान स्थापित गर्न तथा युवा पुस्तालाई भविष्यप्रति सकारात्मक बनाउन विगतका वर्षहरूदेखि नै यो कार्यक्रम आयोजना गरिँदै आएको जानकारी दिनुभयो । उहाँका अनुसार, यस कार्यक्रमले वडावासीहरूलाई एकै ठाउँमा भेला गराई आपसमा पेसागत चिनारी गराउने र आवश्यक पर्दा वडाबासीबीच नै सेवा आदानप्रदान गर्ने वातावरण निर्माण गर्नेछ ।

सम्मानका लागि आवश्यक प्रक्रिया र कागजातहरू
सम्मानित हुन चाहने वडाका स्थायी बासिन्दाहरूले आगामी जेठ ११ गतेभित्र वडा कार्यालयमा आवश्यक कागजात बुझाउनुपर्नेछ । पेसाकर्मीहरूको हकमा शैक्षिक योग्यता र सम्बन्धित निकायमा नवीकरण भएको व्यावसायिक प्रमाणपत्रको प्रतिलिपि अनिवार्य गरिएको छ । यसका साथै, मतदाता परिचयपत्र वा बसाइँसराइको प्रमाणपत्रसहित व्यक्तिगत विवरण (फाराम) र दुई प्रति पासपोर्ट साइजको फोटो बुझाउन वडाले आग्रह गरेको छ ।

यस वर्ष विद्वत वर्गअन्तर्गत इन्जिनियर, एमबिबिएस डाक्टर, चार्टर्ड एकाउन्टेन्ट (CA), रजिस्टर्ड अडिटर, पाइलट, विद्यालय तथा क्याम्पसका प्रधानाध्यापकहरू र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका पदक विजेताहरूलाई विशेष प्राथमिकताका साथ सम्मान गरिने योजना छ ।

विगतको विवरणः
वडा कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार, वि.सं. २०८१ सालमा ६७ जना विद्वत व्यक्तित्व र ३४ जना परम्परागत गुरुहरू (चक्रेश्वर, गुभाजु, नायः, कजि) लाई सम्मान गरिएको थियो । त्यस्तै, २०८२ सालमा १६३ जना विभिन्न व्यक्तित्वहरूलाई सम्मान प्रदान गरिएको थियो ।

वडाध्यक्ष महर्जनले भन्नुभयो, “दिनहुँ यान्त्रिक जीवनतिर लम्किरहेका वडावासीहरू यस बहानामा एकै ठाउँमा भेला हुनेछन्, जसले गर्दा सामाजिक सद्भाव बढ्ने र एकअर्काको पेसागत दक्षताबाट वडाबासीले लाभ लिन सक्नेछन् ।”