गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै, २ बजे बैठक बस्ने

कास्की, ११ जेठ । गण्डकी प्रदेशसभाको बजेट (वर्षे) अधिवेशन आज (सोमबार) देखि सुरु हुँदैछ। प्रदेश प्रमुख डिल्लीराज भट्टले मन्त्रिपरिषद्को सिफारिसमा आह्वान गर्नुभएको यस अधिवेशनको पहिलो बैठक दिउँसो २:०० बजे बस्ने तय भएको छ।

प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलका अनुसार आजको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेस गर्ने लगायतका कार्यसूची रहेका छन्।

संवैधानिक व्यवस्थाअनुसार असार १ गते बजेट ल्याउनुपर्ने भएकाले त्यसअघि सरकारले सदनमा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरी पारित गराउनुपर्ने हुन्छ। सोही बमोजिम प्रदेश प्रमुखले गत जेठ ५ गते अधिवेशन आह्वान गर्नुभएको थियो।

यस अधिवेशनमा सरकारले आफ्ना भावी योजना, प्राथमिकता र बजेटको खाका प्रस्तुत गर्ने भएकाले यसलाई निकै महत्त्वका साथ हेरिएको छ। आजको बैठकमा सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।