एमाले पदाधिकारीको वरीयता टुंगो लाग्यो : ओलीपछि बादल दोस्रो, महेश बस्नेत सचिवको अन्तिम सूचीमा
काठमाडौँ, ७ जेठ । नेकपा (एमाले) ले पार्टीका केन्द्रीय पदाधिकारीहरूको नयाँ वरीयताक्रम निर्धारण गरेको छ। भोलि (शुक्रबार) बस्ने केन्द्रीय सचिवालय बैठकमा पेस गर्ने गरी अध्यक्षदेखि सचिवसम्मका १९ पदाधिकारीहरूको वरीयता टुंगो लगाइएको हो।
निर्धारित नयाँ सूचीअनुसार अध्यक्ष केपी शर्मा ओली पहिलो नम्बरमा रहँदा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ दोस्रो वरीयतामा रहनुभएको छ। एघारौँ महाधिवेशनमा उपाध्यक्षहरूमध्ये सबैभन्दा बढी मत प्राप्त गर्नुभएका पृथ्वीसुब्बा गुरुङलाई भने चौथौ स्थानमा राखिएको छ। उपाध्यक्षहरूको वरीयतामा विष्णुप्रसाद पौडेल तेस्रो, गोकर्ण विष्ट पाँचौँ र रघुजी पन्त छैटौँ नम्बरमा हुनुहुन्छ।
यस्तै, पार्टीको कार्यकारी पद मानिने महासचिवमा शंकर पोखरेल सातौँ वरीयतामा रहनुभएको छ। उपमहासचिवहरूतर्फ लेखराज भट्ट पहिलो (समग्रमा ८औँ), रघुवीर महासेठ दोस्रो र योगेश भट्टराई तेस्रो वरीयतामा पर्नुभएको छ।
सचिवहरूको वरीयतामा भने रोचक फेरबदल देखिएको छ। सचिवमध्ये छविलाल विश्वकर्मा पहिलो नम्बरमा रहँदा महाधिवेशनमा सर्वाधिक मत ल्याएर विजयी हुनुभएका महेश बस्नेत भने सचिवहरूको सूचीमा सबैभन्दा अन्तिम अर्थात् १९औँ वरीयतामा पर्नुभएको छ।
एमाले पदाधिकारीहरूको पूर्ण वरीयताक्रम यसप्रकार छ:
१. अध्यक्ष: केपी शर्मा ओली
२. उपाध्यक्ष: रामबहादुर थापा ‘बादल’
३. उपाध्यक्ष: विष्णुप्रसाद पौडेल
४. उपाध्यक्ष: पृथ्वीसुब्बा गुरुङ
५. उपाध्यक्ष: गोकर्ण विष्ट
६. उपाध्यक्ष: रघुजी पन्त
७. महासचिव: शंकर पोखरेल
८. उपमहासचिव: लेखराज भट्ट
९. उपमहासचिव: रघुवीर महासेठ
१०. उपमहासचिव: योगेश भट्टराई
११. सचिव: छविलाल विश्वकर्मा
१२. सचिव: पद्मा अर्याल
१३. सचिव: खगराज अधिकारी
१४. सचिव: भानुभक्त ढकाल
१५. सचिव: यामलाल कँडेल
१६. सचिव: शेरधन राई
१७. सचिव: राजन भट्टराई
१८. सचिव: हिक्मत कार्की
१९. सचिव: महेश बस्नेत
भोलिको सचिवालय बैठकले यो वरीयताक्रमलाई औपचारिक रूपमा अनुमोदन गर्नेछ। महाधिवेशनको मतभार र पार्टीमा बिताएको समय तथा अनुभवलाई आधार मानेर यो वरीयता तय गरिएको बुझिएको छ।