दुर्गा प्रसाईंलाई थप समय हिरासतमा नराख्न सर्वोच्चको परमादेश

काठमाडौँ, ८ जेठ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न पुनः म्याद थप नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ।

न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज प्रसाईंका तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन खारेज गर्दै यस्तो आदेश दिएको हो। रिट खारेज भए पनि अदालतले अनुसन्धानका नाममा पटक–पटक म्याद थपेर हिरासतमा राखिरहने प्रवृत्तिलाई निरुत्साहित गर्दै अब म्याद थप नगर्न निर्देशन दिएको छ।

यसअघि, जिल्ला अदालत पर्साले बिहीबार मात्रै प्रसाईंलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। सर्वोच्चको पछिल्लो आदेशसँगै जिल्ला अदालतबाट प्राप्त हालको म्याद सकिएपछि उनलाई पुनः हिरासतमा राख्न म्याद थप गर्न पाइने छैन।

सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धानका लागि प्रहरीले प्रसाईंलाई सोमबार राति वीरगन्जबाट पक्राउ गरेको थियो। उनीमाथि लगाइएको आरोप र पक्राउको प्रक्रियालाई लिएर सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको थियो। सर्वोच्चले हालको हिरासतलाई गैरकानुनी नठहर्‍याए पनि थप म्याद थपमा भने रोक लगाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *