१ अर्ब ४० करोड जनसंख्या गन्दै भारत: १६ वर्षपछिको महाअभियान र ‘डिजिटल’ जनगणनाको तयारी

 

नयाँ दिल्ली (एजेन्सी), ८ जेष्ठ । विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक भारतले आफ्नो १ अर्ब ४० करोड नागरिकको गणना गर्न विशाल ‘महाअभियान’ सुरु गर्ने तयारी गरेको छ। कोरोना महामारी र प्रशासनिक ढिलाइका कारण सन् २०२१ मा हुनुपर्ने जनगणना रोकिएपछि भारतले १६ वर्षपछि यो प्रक्रिया अघि बढाउन लागेको हो।

यो जनगणना भारतको इतिहासमै सबैभन्दा खर्चिलो र प्रविधिमैत्री हुने बताइएको छ। यसपटकको गणनामा पहिलो पटक डिजिटल माध्यमको प्रयोग गरिनेछ, जसले भारतीय समाजको बदलिँदो आर्थिक र सामाजिक अवस्थालाई चित्रण गर्नेछ।

३० लाख जनशक्ति र मोबाइल एपको प्रयोग
जनगणनाका लागि भारत सरकारले करिब ३० लाख कर्मचारी परिचालन गर्नेछ, जसमा अधिकांश सरकारी विद्यालयका शिक्षक र स्थानीय अधिकारीहरू रहनेछन्। यी गणकहरू भारतका ६ लाख ४० हजार गाउँ र १० हजार सहरका प्रत्येक घर-दैलोमा पुग्नेछन्।

यसपटकको मुख्य विशेषता भनेको ‘मोबाइल एप’ हो। विगतमा कागजमा आधारित फारम भरिने गरिएकोमा यसपालि पहिलो पटक तथ्याङ्कहरू डिजिटल रूपमा सङ्कलन गरिनेछ, जसले नतिजा चाँडो निकाल्न मद्दत पुग्ने विश्वास गरिएको छ।

दुई चरणमा हुने गणना
भारतीय गृह मन्त्रालयका अनुसार जनगणना दुई चरणमा सम्पन्न हुनेछ:
१. पहिलो चरण: यसमा घरको अवस्था, घरमा उपलब्ध सुविधाहरू (खानेपानी, शौचालय, भान्छा, सवारी साधन, इन्टरनेट) र सम्पत्तिको विवरण सङ्कलन गरिनेछ। यस चरणमा नागरिकलाई ३३ वटा प्रश्न सोधिनेछ।
२. दोस्रो चरण (फेब्रुअरी २०२७): यस चरणमा जनसंख्याको वास्तविक तथ्याङ्क, शिक्षाको स्तर, बसाइसराइ, प्रजनन दर र रोजगारीको अवस्थाबारे विस्तृत विवरण लिइनेछ।

९ दशकपछि ‘जातीय जनगणना’ को बहस
यसपटकको जनगणनाको सबैभन्दा चर्चा र विवादको विषय ‘जातीय विवरण’  हो। सन् १९३१ पछि पहिलो पटक भारतले जनगणनामा जातिको तथ्याङ्क समावेश गर्ने निर्णय गरेको छ।

विपक्षी दलहरूले पछाडि परेका जातिहरूको उत्थान र सरकारी सेवामा आरक्षण  सुनिश्चित गर्न जातीय जनगणना अनिवार्य भएको माग गर्दै आएका थिए। यद्यपि, केही आलोचकहरूले भने यसले भारतीय समाजमा जातीय विभाजनलाई थप मलजल गर्ने र राजनीतिलाई जातीय धु्रवीकरणतर्फ धकेल्ने चेतावनी दिएका छन्।

चीनलाई उछिनेको भारत र ‘जनसांख्यिकीय लाभ’
सन् २०११ को जनगणनामा भारतको जनसंख्या १ अर्ब २१ करोड थियो। संयुक्त राष्ट्रसंघको पछिल्लो अनुमान अनुसार भारतले चीनलाई उछिनेर विश्वकै बढी जनसंख्या भएको देश बनिसकेको छ।

भारतको औसत उमेर २८ वर्ष मात्र छ, जुन चीन र अन्य विकसित देशको तुलनामा निकै कम हो। ४० प्रतिशतभन्दा बढी भारतीय नागरिक २५ वर्षभन्दा मुनिका छन्। अर्थशास्त्रीहरूले यसलाई ‘डेमोग्राफिक डिभिडेन्ड’ (जनसांख्यिकीय लाभ) भनेका छन्, जसलाई सहि सदुपयोग गर्न सके भारतले तीव्र आर्थिक वृद्धि हासिल गर्न सक्नेछ।

किन महत्त्वपूर्ण छ यो जनगणना?
भारत हाल ३.५ ट्रिलियन डलरको अर्थतन्त्रसहित विश्वको पाँचौँ ठूलो अर्थतन्त्र बनेको छ। तर, अझै पनि ठूलो जनसंख्या गरिबीको रेखामुनि छ। यो जनगणनाले सरकारलाई गरिबी निवारणका योजना बनाउन, खाद्यान्न वितरण प्रणाली  व्यवस्थित गर्न र स्वास्थ्य-शिक्षामा बजेट विनियोजन गर्न ठोस आधार प्रदान गर्नेछ।

भारतको यो विशाल जनसाङ्ख्यिकीय कसरत अर्को वर्षसम्ममा सम्पन्न हुने र त्यसको अन्तिम नतिजा सन् २०२७ को अन्त्यसम्ममा सार्वजनिक हुने अपेक्षा गरिएको छ।(स्रोत:सिएनएन)