बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु, अब सडक र पुल दुई लेनको बन्ने

काभ्रेपलाञ्चोक, १२ जेठ । जापान सरकारको सहयोगमा बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको स्थायी पुनर्निर्माण कार्य सुरु भएको छ।

सोमबार एक विशेष समारोहका बीच नेपालका लागि जापानी राजदूत माएदा तोरु र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रूपमा उक्त परियोजनाको शिलान्यास गर्नुभयो।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा सो खण्डमा पर्ने ३.२ किलोमिटर सडकको पुनर्निर्माण थालिएको हो। वि.सं. २०८१ असोज १२ गतेको विनाशकारी बाढी र पहिरोका कारण क्षतविक्षत भएको राजमार्गको यो खण्डलाई अब पहिलेको भन्दा बलियो र आधुनिक बनाइनेछ।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार अबको पुनर्निर्माणमा राजमार्गलाई दुई लेनमा विस्तार गरिनेछ। सडक मात्र नभई यस खण्डमा रहेका पाँचवटा पुलहरूलाई समेत थप पुल निर्माण गरी दुई लेनकै बनाइनेछ। “बाढीले पूर्ण रूपमा क्षति (वासआउट) गरेका स्थानमा अब बाढी प्रतिरोधी विशेष डिजाइनका संरचना निर्माण गरिनेछ,” योगेशले भन्नुभयो।

यस सडकखण्डको निर्माणका लागि जापान सरकारले २ अर्ब ८० करोड येन अनुदान उपलब्ध गराएको छ। निर्माणको जिम्मा जापानकै सिमिजु कर्पोरेसनले लिएको छ। जाइका टोलीले यसअघि नै क्याम्प निर्माण र अस्थायी बाटो बनाउने जस्ता पूर्वतयारीका कामहरू सम्पन्न गरिसकेको छ।

राजमार्गको कुल ३० किलोमिटर क्षतिग्रस्त खण्डमध्ये जाइकाले बनाउने बाहेकका अन्य क्षेत्रमा नेपाल सरकारले आफ्नै स्रोतबाट ठेक्का लगाइसकेको छ। सरकारले कुल ८ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति दिएर तीनवटा प्याकेजमा काम अघि बढाएको हो:
डालाबेँसी–चारसयबेँसी (८.५ किमी): १ अर्ब ४२ करोड ३७ लाखमा खानी–एवन–कमलजीत जेभीले काम गर्दैछ।
चारसयबेँसी–भकुण्डेबेँसी (११.०८ किमी): १ अर्ब ३३ करोड ५३ लाखमा लामा–नवकान्तिपुर जेभीले निर्माण गर्दैछ।
नेपालथोक–बर्खेखोला (४.९ किमी): ६१ करोडमा खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीले जिम्मा पाएको छ।
हालसम्म काभ्रेतर्फको काममा समग्रमा २५ प्रतिशत प्रगति भएको सडक डिभिजनले जनाएको छ।