मुस्लिम धर्मावलम्बीहरूले देशभर हर्षोल्लासका साथ मनाइँदै बकर इद

काठमाडौँ, १४ जेठ । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व ‘इदुल जोहा’ अर्थात् बकर इद आज देशभरका मस्जिद र इदगाहहरूमा हर्षोल्लासका साथ मनाइँदैछ । धार्मिक परम्पराअनुसार इदुल फित्र (रमजान) को ७० औँ दिनमा यो पर्व मनाउने गरिन्छ ।

आज बिहानैदेखि काठमाडौँको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदका साथै देशभरका विभिन्न स्थानमा रहेका मस्जिद र इदगाहहरूमा सामूहिक नमाज पढ्न मुस्लिम धर्मावलम्बीहरूको ठूलो घुइँचो लागेको छ । नमाज पढिसकेपछि उनीहरूले एकापसमा अङ्गालो मारेर शुभकामना आदानप्रदान गरेका छन् ।

मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीका अनुसार, हिजरी संवत्‌को इतिहासमा करिब १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिम अलि सलामले आफ्ना छोरा इस्माइललाई बलिदान गर्न तयार भएको स्मरणमा यो पर्व मनाउन थालिएको हो । इब्राहिमको सोही त्याग र परीक्षाबाट अल्लाह प्रसन्न भई मानिसको सट्टा स्वर्ग (जन्नत) बाट आएको दुम्बाको बलि भएको धार्मिक विश्वास छ ।

मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली भन्नुहुन्छ, “यो पर्वले त्याग, समर्पण र मानवताको सन्देश दिन्छ । मक्का र मदिनाको हज यात्रासँग पनि यसको गहिरो सम्बन्ध छ, जहाँ अहिले पनि विश्वभरका लाखौँ मुस्लिमहरू भेला भई यो पर्व मनाइरहेका छन् ।”

बकर इदको मुख्य आकर्षण ‘कुर्बानी’ (बलि) हो । अल्लाहलाई खुसी पार्न मुस्लिम धर्मावलम्बीहरूले जायज मानेका जनावरको बलि दिने गर्छन् । परम्पराअनुसार, सो मासुलाई तीन भागमा बाँडिने गरिन्छ– एक भाग गरिब एवं विपन्नलाई, अर्को भाग इष्टमित्रलाई र तेस्रो भाग आफ्नो परिवारका लागि । यसले समाजमा रहेका अभावग्रस्त व्यक्तिहरूलाई पनि चाडपर्वमा सहभागी गराउनुका साथै भ्रातृत्व र सद्भाव बढाउने विश्वास गरिन्छ ।

मुस्लिम समुदायले यो पर्व आगामी शनिबारसम्म अर्थात् तीन दिनसम्म मनाउनेछन् । तीनै दिन कुर्बानी गर्न मिल्ने धार्मिक प्रावधान रहेको जामे मस्जिदले जनाएको छ । बकर इदको अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा समेत दिएको छ ।