आगामी वर्ष मुलुकभर १ हजार किलोमिटर सडक कालोपत्र र २ सय पुल बनाइने
काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा मुलुकभर थप १ हजार किलोमिटर सडक कालोपत्र (पिच) गर्ने र २ सय वटा सडक पुल निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै भौतिक पूर्वाधार तथा यातायात क्षेत्रतर्फ यस्तो लक्ष्य सार्वजनिक गर्नुभएको हो।
बजेट वक्तव्य अनुसार पूर्व–पश्चिम राजमार्गलाई आगामी पाँच वर्षभित्र चार लेनमा विस्तार गर्ने काम सम्पन्न गरिनेछ। यस अन्तर्गत राष्ट्रिय गौरवको नारायणगढ–बुटवल र कमला–कञ्चनपुर खण्डको सडक विस्तार कार्य यसै आर्थिक वर्षभित्र सम्पन्न गरिनेछ भने बाँकी ८० किलोमिटर खण्ड आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गरिनेछ। यस राजमार्गका लागि सरकारले रु. ३७ अर्ब ४६ करोड विनियोजन गरेको छ।