नवनियुक्त नगर प्रहरी वरिष्ठ उपरीक्षक जोशीलाई दर्ज्यानी चिन्ह प्रदान : नागरिकमैत्री सेवामा जोड दिन कार्यवाहक प्रमुखको निर्देशन
काठमाडौँ, २० जेठ । काठमाडौँ महानगरपालिकाका नवनियुक्त नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीलाई आज एक विशेष समारोहका बीच दज्र्यानी चिन्ह (फुली) प्रदान गरिएको छ । महानगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले जोशीलाई दर्ज्यानी चिन्हबाट सुशोभन गर्नुभयो ।
गत जेठ ३ गते बसेको ४९औँ कार्यपालिका बैठकले जोशीलाई नगर प्रहरी उपरीक्षकबाट वरिष्ठ उपरीक्षक पदमा पदोन्नति गर्दै महानगर प्रहरी बलको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
नागरिकको दुःखमा महानगर प्रहरीको उपस्थिति देखिनुपर्छ: कार्यवाहक प्रमुख डंगोल
सुशोभन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले नगर प्रहरीले नागरिकको साथीका रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकाको छवि नगर प्रहरीको सेवा र आचरणमा प्रतिबिम्बित हुन्छ । त्यसैले कानुनले तोकेका जिम्मेवारी पूरा गर्दा शिष्टता र नम्रता अपनाई महानगरवासीले दुःखको समयमा महानगर प्रहरीलाई सम्झने वातावरण निर्माण गर्नुहोस् ।”
कार्यवाहक प्रमुख डंगोलले नगर प्रहरीको वृत्ति विकास र क्षमता अभिवृद्धिमा महानगरले कुनै भेदभाव नगर्ने स्पष्ट पार्दै संगठनको गौरव उच्च राख्न निर्देशन दिनुभयो । उहाँले सुरक्षा निकायहरूसँगको समन्वय र सहरी व्यवस्थापनमा जवाफदेही भएर लाग्न समेत आग्रह गर्नुभयो ।
पदोन्नति पश्चात् आफ्नो धारणा राख्दै वरिष्ठ उपरीक्षक जोशीले आफू कर्तव्यप्रति सधैँ इमानदार रहने र संस्थाको गरिमा बढाउन निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तीन दशक लामो व्यावसायिक यात्रा
२०५० साल भदौ १४ गते नगर प्रहरी सेवामा प्रवेश गर्नुभएका जोशीको व्यावसायिक यात्रा करिब तीन दशक लामो छ । उहाँ २०६५ मा निरीक्षक, २०७२ मा नायव उपरीक्षक, र २०७७ मा उपरीक्षक हुँदै अहिले वरिष्ठ उपरीक्षकको जिम्मेवारीमा पुग्नुभएको हो ।
महानगर प्रहरीको विकास र क्षेत्राधिकार
वि.सं. २०५० सालमा २१९ जनाको दरबन्दीबाट सुरु भएको महानगर प्रहरी सेवालाई २०७७ सालमा ‘महानगर प्रहरी बल’ का रूपमा विकास गरिएको थियो । २०८० सालमा जारी ‘महानगर प्रहरी ऐन’ ले यसलाई थप सशक्त र संगठित बनाएको छ । हाल नगर प्रहरीले सार्वजनिक सम्पत्तिको सुरक्षा, सहरी व्यवस्थापन, विपद् व्यवस्थापन र वातावरणीय सुधार लगायत २८ प्रकारका महत्वपूर्ण जिम्मेवारीहरू निर्वाह गर्दै आएको छ ।
उक्त समारोहमा महानगरका प्रवक्ता नवीन मानन्धर, विभिन्न समितिका संयोजकहरू, विभागीय प्रमुखहरू तथा नगर प्रहरी बलका अधिकृतहरूको उपस्थिति रहेको थियो ।