बजेटमार्फत भन्सार दरमा व्यापक हेरफेर: बिटुमिनमा भारी छुट, सुर्ती र गहना आयात महँगो
काठमाडौँ, २० जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत भन्सार महसुल दरमा ठुलो हेरफेर गरेको छ। आर्थिक विधेयक २०८३ मार्फत सरकारले विकास निर्माणका सामग्रीमा सहुलियत दिँदै विलासी र स्वास्थ्यका लागि हानिकारक वस्तुमा भन्सार दर बढाएको हो।
नयाँ व्यवस्थाअनुसार सरकारले ३१७ वस्तुको भन्सार घटाएको छ भने १०८ वस्तुमा लाग्ने महसुल वृद्धि गरेको छ। यस्तै, विद्युतीय चुलोसहित १३ वटा वस्तुको आयातमा भन्सार पूर्ण रूपमा मिनाहा (माफी) गरिएको छ।
सडक पूर्वाधार निर्माणमा महत्वपूर्ण मानिने बिटुमिन आयातमा सरकारले २५ प्रतिशतसम्म भन्सार घटाएको छ। जेठ १४ गतेसम्म सार्क मुलुकबाट आयात गर्दा ११.२५ र अन्य मुलुकबाट ल्याउँदा ३० प्रतिशत भन्सार लाग्ने गरेकोमा जेठ १६ गतेदेखि यसलाई ५ प्रतिशतमा झारिएको छ। यसले सडक निर्माणको लागत घटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
सरकारले प्रशोधित सुर्तीको भन्सार दरमा ५० प्रतिशत विन्दुले वृद्धि गरी ८० प्रतिशत कायम गरेको छ। यसअघि यस्तो सुर्तीमा ३० प्रतिशत मात्रै भन्सार लाग्ने गर्दथ्यो।
त्यसैगरी, बहुमूल्य धातु तथा गहना आयात पनि महँगो भएको छ। यसअघि सार्क मुलुकका हकमा ९.५ र अन्यका हकमा १५ प्रतिशत रहेको भन्सार दरलाई १५ प्रतिशत विन्दुले बढाएर ३० प्रतिशत पुर्याइएको छ। यसले सुनचाँदीका गहनाको आयात लागत बढाएकाे छ।
सरकारले दैनिक उपभोग्य र कृषिजन्य वस्तुको भन्सारमा केही लचकता अपनाएको छ। दूध र दुग्धजन्य पदार्थ, कफी तथा केक जस्ता ३१७ वस्तुको भन्सार दर घटाइएको छ।
यता, रक्सी (मदिरा), सुर्तीजन्य वस्तु र सवारी साधन लगायतका १०८ विलासी वस्तुहरूको आयातमा भने भन्सार बढाइएको छ। विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहन गर्न यसको आयातमा लाग्ने भन्सार पूर्ण रूपमा हटाइएको छ।
बजेट सार्वजनिक भएको भोलिपल्ट अर्थात् जेठ १६ गतेदेखि नै यी नयाँ भन्सार दरहरू कार्यान्वयनमा आइसकेका छन्। सरकारले स्वदेशी उत्पादनलाई संरक्षण गर्ने र आयात प्रतिस्थापन गर्ने उद्देश्यले यो नीति लिएको जनाएको छ