नक्कली व्यवसाय खडा गरी कर्जा दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउण्डेसनका ओमप्रसाद पाण्डे पक्राउ
काठमाडौँ, २० जेठ । कृत्रिम व्यवसाय खडा गरी बैंक तथा वित्तीय संस्थाको कर्जा दुरुपयोग गरेको अभियोगमा राम जानकी हेल्थ फाउण्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको टोलीले उनलाई आज धनुषाबाट नियन्त्रणमा लिएको हो।
काठमाडौँ महानगरपालिका–९ रातोपुलका स्थायी बासिन्दा पाण्डे इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एण्ड भेटेरिनेरी साइन्सेसका सञ्चालक समेत हुन्। उनलाई धनुषाको छिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित जानकी मेडिकल कलेजबाट पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
पाण्डेमाथि नक्कली कागजात र व्यवसायका आधारमा पटक–पटक कर्जा लिएर सो रकम हिनामिना गरेको आरोप छ। बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा उनीविरुद्ध उच्च अदालत पाटनबाट २०८२ मङ्सिर २८ गते पक्राउ पुर्जी जारी भएको थियो।
अदालतबाट पुर्जी जारी भएपछि फरार रहेका उनलाई सीआईबीले विशेष सुराकीका आधारमा धनुषा पुगेर समातेको हो। पक्राउ परेका पाण्डेलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ।