बिदा सकिएर पनि सम्पर्कविहीन भएका कर्मचारीलाई सरकारको चेतावनी, तीन दिनभित्र हाजिर हुन अल्टिमेटम

काठमाडौँ, २२ जेठ । सरकारले अध्ययन तथा असाधारण बिदामा बसेका तर बिदाको अवधि सकिएपछि पनि लामो समयसम्म कार्यालयमा हाजिर नभई सम्पर्कविहीन रहेका निजामती कर्मचारीहरूलाई कडा कारबाहीको चेतावनी दिएको छ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज एक सूचना जारी गर्दै बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्किएका र आफ्नो व्यक्तिगत विवरण (पीआईएस) अद्यावधिक नगरेका कर्मचारीहरूलाई तीन दिनभित्र सम्पर्कमा आउन अल्टिमेटम दिएको हो। कानुन बमोजिम अध्ययन वा असाधारण बिदा स्वीकृत गराएका केही निजामती कर्मचारीहरू बिदा अवधि समाप्त भएपछि पनि सम्बन्धित कार्यालयमा हाजिर नभएको र लामो समयदेखि सम्पर्कविहीन रहेको भन्दै मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता एकदेव अधिकारीद्वारा जारी सूचना अनुसार त्यस्ता कर्मचारीहरूको व्यक्तिगत अभिलेख राष्ट्रिय किताबखानामा अद्यावधिक नभएको भए तीन दिनभित्र अनिवार्य रूपमा अद्यावधिक गराउन निर्देशन दिइएको छ।

यसका साथै सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीय स्तरका कार्यालयहरूलाई आ–आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन वा असाधारण बिदा स्वीकृत गराई हालसम्म काममा नफर्किएका कर्मचारीहरूको यकिन विवरण तयार गरी राष्ट्रिय किताबखानासँग समन्वय गर्न भनिएको छ।

तोकिएको तीन दिनको समयावधिभित्र पनि सम्पर्कमा नआउने र कार्यक्षेत्रमा हाजिर नहुने कर्मचारीहरूका हकमा प्रचलित ऐन तथा नियम बमोजिम कडा विभागीय कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले चेतावनी दिएको छ।