यार्सागुम्बा सङ्कलनको सिजन: सुनसान बने उत्तरी गोरखाका गाउँबस्ती

काठमाडौँ, जेठ २५ । बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनको सिजन सुरु भएसँगै उत्तरी गोरखाका हिमाली बस्तीहरू यतिबेला सुनसान बनेका छन् । स्थानीय बासिन्दाहरू यार्सागुम्बा खोज्न उच्च हिमाली भेगका लेक र खर्कतर्फ लागेपछि गाउँहरूमा घर कुरुवा र वृद्धवृद्धा मात्र बाँकी रहेका हुन् ।

चुमनुब्री गाउँपालिका १ को सामागाउँ र साम्दो तथा वडा नं. ७ को छेकम्पारका अधिकांश घरहरूमा यतिबेला ताल्चा लगाइएका छन् । वडा नं. ७ का वडाध्यक्ष टासी दोर्जे लामाका अनुसार, यस वडाका ८१२ घरधुरीका बासिन्दाहरू ४ हजार मिटरभन्दा बढी उचाइमा रहेका लेकहरूमा अस्थायी पाल टाँगेर बसिरहेका छन् ।

विशेष गरी ४,०६५ मिटर उचाइमा रहेको भाज्यो लेक, ४,१६५ मिटरको छेक्या लेक र फुचुन लेकमा सङ्कलकहरूको ठूलो घुइँचो लागेको छ । छेकम्पारका ङाक्यू, लेरु, लामागाउँ, लार, फुर्पे र निले गाउँका बासिन्दाहरू ६ घण्टाभन्दा बढीको पैदल यात्रा तय गरी यी दुर्गम लेकहरूमा पुगेका हुन् ।

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का कर्मचारी सुवास नेपालका अनुसार सङ्कलकहरूको दिनचर्या निकै कष्टकर र व्यस्त रहने गरेको छ । “सङ्कलकहरू बिहान ८ बजे नै शिविरबाट निस्कन्छन् र दिनभर भीर–पखेरामा यार्सागुम्बाको खोजी गरी साँझ ६ बजे मात्र पालमा फर्किने गर्छन्,” उहाँले बताउनुभयो ।

गाउँ पूरै खाली भएपछि कतिपय स्थानीयले घरको सुरक्षाका लागि तल्लो भेग (रोङ्वा) का मानिसहरूलाई मासिक २० हजार रुपैयाँसम्म तलब दिएर ‘घर कुरुवा’ राख्ने गरेका छन् । चुमनुब्री–३ को फिलिम र पाङसिङ क्षेत्रका महिलाहरूलाई दुई महिनाका लागि घर रेखदेखको जिम्मेवारी सुम्पिएको वडाध्यक्ष लामाले जानकारी दिनुभयो ।

हरेक वर्ष जेठ महिनामा यार्सागुम्बा टिप्नका लागि उत्तरी गोरखाका बालबालिकादेखि वृद्धवृद्धासम्म सबै लेकतिर उक्लिने गर्दछन्, जसका कारण सो क्षेत्रका विद्यालयहरू समेत बन्द हुने र नियमित प्रशासनिक कार्यहरू प्रभावित हुने गरेका छन् ।