बिपी राजमार्गको रोशी खण्डमा सवारी आवागमन ठप्प, यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न प्रहरीको आग्रह

काभ्रेपलाञ्चोक, २६ जेठ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गको रोशी क्षेत्रमा आज मध्याह्न १२:३० बजेदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। रोशी खोलामा पानीको बहाव उच्च भएपछि यात्रु र सवारीसाधनको सुरक्षालाई ध्यानमा राखेर यो निर्णय लिइएको हो।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन विष्टका अनुसार रोशी खण्डमा सञ्चालन हुने सबै प्रकारका सवारीसाधनलाई रोक लगाइएको छ। खोलाको सतह बढेर सडकमा समेत जोखिम बढेपछि तत्कालका लागि यातायात बन्द गर्नु परेको प्रहरीले जनाएको छ।

बिपी राजमार्ग हुँदै पूर्वी नेपाल र तराईतर्फ जाने सवारीसाधनहरूलाई काभ्रेको धुलिखेलमा रोकिएको छ। त्यसैगरी, सिन्धुलीको सुरक्षा समितिसँग समन्वय गरी खुर्कोट र नेपालथोकमा पनि सवारीसाधनहरूलाई अगाडि बढ्न दिइएको छैन।

बेमौसमी वर्षाका कारण सडक दिनानुदिन अवरुद्ध हुन थालेपछि यसअघि रातको समयमा गरिँदै आएको अनिश्चितकालीन बन्दलाई पुनः लम्ब्याइएको छ। सडकको विभिन्न ठाउँमा पहिरो जाने र खोलाको सतह बढ्ने क्रम नरोकिएकाले यात्रा जोखिमपूर्ण बनेको छ।

प्रहरीले यात्रुहरूलाई सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै घरबाट निस्कन र यात्रा तय गर्न अपिल गरेको छ। रोशी खोलाको बहाव कम नभएसम्म र सडक सुरक्षित नभएसम्म आवागमन खुला हुने सम्भावना कम देखिएको छ।