बालबालिकाको खेल्न पाउने अधिकारमा सरोकारवालाको जोड

काठमाडौँ, २७ जेठ । अन्तर्राष्ट्रिय खेल दिवस २०२६ को अवसर पारेर बालबालिकाको खेल्न पाउने मौलिक अधिकार र त्यसको महत्वका विषयमा काठमाडौँमा विशेष मन्थन गरिएको छ । एसोसिएसन अन राइट्स टु प्ले (एआरपी) नेपाल र प्लान इन्टरनेशनल नेपालको संयुक्त आयोजनामा नयाँ बानेश्वरस्थित अल्फा हाउसमा ‘खेलको अधिकार’ सम्बन्धी अन्तरक्रियात्मक संवाद सम्पन्न भएको हो ।

यस वर्षको अन्तर्राष्ट्रिय खेल दिवस ‘खेललाई बचाउनुहोस्, बाल्यकाललाई बचाउनुहोस्’ भन्ने मूल नाराका साथ मनाइने भएकाे छ । कार्यक्रममा बोल्दै एआरपी नेपालका संस्थापक अध्यक्ष मोहन दँगालले विश्वका करोडौँ बालबालिका अझै पनि खेल्न पाउने आफ्नो आधारभूत अधिकारबाट वञ्चित रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । “बढ्दो सहरीकरण र प्रविधिको अत्यधिक प्रयोगले बालबालिकाको प्राकृतिक खेल र बाल्यकाल ओझेलमा परिरहेको छ,” अध्यक्ष दँगालले भने, “बालबालिकाको मानसिक र शारीरिक विकासका लागि खेल अपरिहार्य छ, यसलाई जवाफदेही बनाउन यो दिवसले महत्वपूर्ण भूमिका खेल्छ ।”

कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका प्रतिनिधि गणेश गुरुङले खेलकुद क्षेत्रमा सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसकेको स्वीकार गरे । उनले बालबालिकाहरूको वर्तमान अवस्थाको चित्रण गर्दै भने, “अहिले सहरका बालबालिका पढाइको बोझले थिचिएका छन् भने गाउँका बालबालिका घरको जिम्मेवारीले थिचिएका छन् । उनीहरूले फुर्सद पाएका छैनन् ।” गुरुङले पाठ्यक्रममै खेलकुदलाई अनिवार्य रूपमा जोडेर सचेतना जगाउनु पर्नेमा जोड दिए ।

प्लान इन्टरनेशनल नेपालका किरण भण्डारीले सहरी क्षेत्र बालबालिकाका लागि खेल्न अनुपयुक्त बन्दै गएको प्रति चिन्ता व्यक्त गरे । “सडकमा सवारीसाधन र कुकुरको डरले बालबालिका घरबाहिर निस्कन डराउनुपर्ने अवस्था छ,” उनले भने, “सरकारले अब बनाउने पार्कहरू नि:शुल्क हुनुपर्छ र प्लास्टिकका खेलौनाभन्दा स्थानीयस्तरमा उपलब्ध सामग्री प्रयोग गर्न प्रोत्साहित गर्नुपर्छ ।”

यस्तै, स्वास्थ्य मन्त्रालयका डा. रिनेश अधिकारीले प्रारम्भिक बालविकासमा ‘अभिभावक शिक्षा’को भूमिका महत्वपूर्ण हुने बताए । राष्ट्रिय बाल अधिकार परिषद्की नमूना भुसालले बाल सुधार गृह र बालगृहमा रहेका बालबालिकाहरूका लागि पनि खेलकुदको अधिकार सुनिश्चित गरिनुपर्ने र स्थानीय सरकार सञ्चालन ऐनमा पहुँच अनुसार खेलको वर्गीकरण हुनुपर्ने धारणा राखिन् ।

कार्यक्रममा बाल अधिकारकर्मी, शिक्षाविद्, खेल विज्ञ र विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । एआरपी नेपालले लामो समयदेखि नेपालमा बालबालिकाको खेलको अधिकार सुनिश्चित गर्न विभिन्न वकालत र चेतनामूलक अभियानहरू सञ्चालन गर्दै आएको छ ।