ट्राफिक नियम पालना नगरेको भन्दै पाँच सय जरिवाना, सचेत गराएकोमा मुख्यमन्त्री शाह खुशी

काठमाडौँ, १८ असार । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक नियम उल्लंघन गरेको आरोपमा प्रहरीले कारबाही गरेको छ । उहाँलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले रु ५ सय रुपैयाँ जरिवाना तिराइएको हो ।

मुख्यमन्त्री शहकै निवास पुगेर जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख रेशम आचार्यसहितको प्रहरी टोलीले उक्त रकम बराबरको जरिवाना तिराएपछि शाहले त्यसलाई सकारात्मक रुपमा लिनु भएको छ ।

मुख्यमन्त्री शाहले हेलमेट नलाई सवारी चलाएको पाइएपछि जरिबाना तिराइएको ट्राफिक प्रहरीको चिटमा उल्लेख छ । मुख्यमन्त्री शाहले पनि आफूले घरको कम्पाउण्डमा हेलमेट नलगाई मोटरसाइकल कुदाएको र केही विवादित भएको भन्दै ट्राफिक प्रहरीले सचेत गराएकोमा धन्यवाद दिनुभयो । ‘हामी सबैले पूर्णरुपमा ट्राफिक नियमको पालना गर्नुपर्छ, ट्राफिक नियमको पालना नगरेकाले धेरै घटना घट्ने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘मैल मेरो कम्पाउण्डमा हेलमेट नलगाई मोटरसाइकल चलाउँदा केही विवाद भयो । कानुन सर्वसाधारण, ओहदामा रहेका र सत्तामा रहेका सबैका लागि बराबरी हुन्छ । त्यसको प्रयोग गर्ने सन्र्दभमा गलत व्याख्या गर्नुहुँदैन ।’

उहाँले कानुन कार्यान्वयन गर्ने सबैलाई कानुनले तोके अनुसार दण्डित गर्ने सन्र्दभमा कठोर भएर, इमान्दार भएर, कर्तव्यनिष्ठ भएर लाग्नुपर्नेमा पनि जोड दिनुभयो । ‘कानुनको व्याख्या आफु अनुकुल कसैले गर्नु हुँदैन’ उहाँले भन्नुभयो, ‘मैले हेल्मेट नलगाई मोटरसाइकल कुदाएकोमा दण्डित गर्दै ट्राफिक प्रहरीले थमाएको चिट प्राप्त भएको छ । त्यहाँ व्यवस्था भए अनुसार जरिवाना तिर्न तयार छु ।’ आफ्नो निवास परिसरमा शाहले हेलमेट नलगाइ बुलेट बाइक चलाएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै चौतर्फी आलोचना भएको थियो ।