‘मर्नु नै छ भने आफ्नै देशमा मरौँला’: दक्षिण अफ्रिकाको हिंसापछि रित्तो हात घर फर्कँदै हजारौँ मलावी नागरिक

 

लुचेन्जा, मलावी । “मर्नु नै छ भने आफ्नै देशमै मरौँला,” भन्दै ३३ वर्षीया थोकोजानी म्फोला दक्षिण अफ्रिकाको हिंसात्मक वातावरणबाट ज्यान जोगाएर आफ्नो थातथलो मलावी आइपुगेकी छिन्। छिमेकी र आफन्तहरूको घेरामा भावुक मुद्रामा उभिएकी म्फोला ती हजारौँ मलावी नागरिकमध्ये एक हुन्, जसको वैदेशिक रोजगारीको सपना दक्षिण अफ्रिकामा चर्किएको विदेशी विरोधी  हिंसाले खरानी बनाइदिएको छ।

सन् २०२४ मा दक्षिण अफ्रिका पसेकी म्फोलाले त्यहाँ एउटा बदाम प्याकेजिङ फ्याक्ट्रीमा काम पाएकी थिइन्। “त्यहाँ बाँच्न निकै कठिन थियो, तर पनि कमाएको पैसाले आमा र छोराछोरीलाई पाल्न पुगेकै थियो,” उनले अलजजिरासँग भनिन्। तर, सडकमा विदेशीहरूमाथि भइरहेको निर्मम कुटपिट र हिंसा देखेपछि उनले अन्तिम महिनाको तलबले घर फर्कने गाडी भाडा तिरिन्। उनी अहिले केही लुगाफाटा र रित्तो गोजी लिएर घर फर्किएकी छिन्।

सपनाको अन्त्य र रित्तो हातको यात्रा
२७ वर्षीया जेनेट कापिटोको कथा पनि उस्तै कारुणिक छ। सन् २०२२ मा आफ्नो गाउँ लोलो छोड्दा उनले सोचेकी थिइन्— केही वर्ष दक्षिण अफ्रिकामा पसिना बगाएर कमाएको पैसाले एउटा सानो घडेरी किन्नेछु र घर बनाउनेछु। तर, ८ महिनाको काखे बालक बोकेर मलावी आइपुग्दा उनीसँग न त पैसा छ, न त भविष्यको कुनै आधार।

“हिंसा सुरु भएपछि म कोठाभित्रै थुनिएँ, काममा जानै पाइनँ,” कापिटोले भनिन्। उनले कमाएर पठाएको पैसाले घरको जग त बसालिएको छ, तर त्यो पूरा हुने आशा अब हराएको छ। झन् दुःखको कुरा त, बाटोमा फर्कँदै गर्दा बसभित्रै उनका बाँकी रहेका थोरै सामान पनि चोरी भए। अहिले उनीसँग सरकारले दिएको ७०,००० मलावी क्वाचा (करिब ४० डलर) बाहेक केही छैन।

युद्धजस्तै आक्रमण: ‘हामी बच्चाजस्तै रित्तो भयौँ’
जोहानेसबर्गमा घर जलाइएपछि ज्यान जोगाएर फर्किएका इड्रिसा अकिलेमुले त्यहाँको अवस्थालाई प्रदर्शन नभई ‘युद्ध’ को संज्ञा दिएका छन्। “उनीहरू रातको समयमा आक्रमण गर्थे। मेरो घर जलाइदिए, सर्वस्व लुटे,” उनले आँसु पुछ्दै भने। “हामी त्यहाँ वर्षौँसम्म पसिना बगाएर काम गर्छौँ, तर फर्कँदा एउटा सानो बच्चाजस्तै रित्तो हात फर्कनुपर्‍यो। यो साह्रै दुःखदायी छ।”

सरकार र तथ्याङ्कको अवस्था
मलावी सरकारका अनुसार अहिलेसम्म झण्डै ७,००० नागरिकहरू स्वदेश फर्किसकेका छन्। मलावीको विपद् व्यवस्थापन विभागले दक्षिण अफ्रिकामा करिब १०,००० नागरिकहरू चरम संकटमा रहेको र उनीहरूलाई सुरक्षित फिर्ता ल्याउन ‘रेस्पोन्स प्लान’ सक्रिय पारिएको जनाएको छ। उता, दक्षिण अफ्रिकी अधिकारीहरूका अनुसार हालसम्म १५,१६२ मलावी नागरिकहरूलाई फिर्ता पठाउने प्रक्रिया  अघि बढाइएको छ।

किन भइरहेको छ हिंसा?
मलावीका सामुदायिक नेताहरूका अनुसार दक्षिण अफ्रिकामा निर्वाचनको समय नजिकिँदै गर्दा विदेशी विरोधी भावना र भाषणबाजी तीव्र हुने गर्छ। स्थानीयले विदेशीहरूका कारण आफ्नो रोजगारी गुमेको आरोप लगाउँदै उनीहरूमाथि आक्रमण गर्ने गरेका छन्।

फर्किएका कतिपय नागरिकहरू भने लज्जाबोधका कारण मिडियामा बोल्न चाहँदैनन्। बेरोजगारी र गरिबीले थलिएको मलावीमा रित्तो हात फर्कनुलाई सामाजिक रूपमा ‘असफलता’ मानिने भएकाले उनीहरूलाई समाजमा पुनर्मिलन हुन पनि उत्तिकै गाह्रो भइरहेको छ।

दक्षिण अफ्रिकामा अझै पनि हजारौँ विदेशी नागरिकहरू लुकिछिपी वा खुल्ला चौरमा शरण लिएर स्वदेश फर्कने पालो कुरिरहेका छन्। उनीहरू सबैको एउटै स्वर छ— “अब विदेशी भूमिमा मर्नुभन्दा आफ्नै देशको धुलोमा रमाउनु निकै बेस छ।”(स्रोतः अन्तराष्ट्रिय न्यूज एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *