भेनेजुएलामा महाभूकम्प: ९२० को मृत्यु, ५१ हजार बेपत्ता, जीवित उद्धारका लागि ‘७२ घण्टा’ को अन्तिम दौड

एजेन्सी । दक्षिण अमेरिकी राष्ट्र वेनेजुएलामा बुधबार गएको दुईवटा शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ९२० पुगेको छ । भूकम्प गएको ७२ घण्टा बित्न लाग्दा अझै ५१ हजारभन्दा बढी मानिस बेपत्ता रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी दिइएको छ ।

विनाशको रूप: हातले भग्नावशेष पन्छाउँदै स्थानीय
बुधबार ७.२ र ७.५ रेक्टर स्केलका दुईवटा शक्तिशाली भूकम्पले वेनेजुएलाको तटीय क्षेत्र ‘ला गुइरा’ लाई क्षतविक्षत बनाएको छ । भूकम्पको केन्द्रविन्दु जमिनको कम गहिराइमा रहेका कारण विनाश बढी भएको विज्ञहरूको भनाइ छ ।

भूकम्पपछिको ‘गोल्डेन आवर’ अर्थात् ७२ घण्टाभित्र जीवितै उद्धार गर्ने समय अब सकिनै लागेको छ । सरकारी उद्धार टोलीहरूको अभावका कारण पीडितहरू निकै हतास देखिएका छन् । धेरै स्थानमा स्थानीय बासिन्दाहरूले आफ्ना आफन्तलाई खोज्न खाली हातले नै भग्नावशेष र सिमेन्टका ढिक्काहरू पन्छाउन बाध्य भएका छन् ।

हजारौं बेपत्ता, लाखौं प्रभावित
अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM) का अनुसार यो विपदबाट करिब ६७ लाख ६० हजार मानिस प्रभावित भएका छन्, जसमा राजधानी काराकासका मात्रै २० लाख मानिस छन् । बेपत्ता भएका ५१ हजारको संख्यामा सञ्चार सम्पर्क विच्छेद भएका र दोहोरिएका विवरणहरू पनि हुन सक्ने बताइएको छ । हालसम्म ३,३०० भन्दा बढी घाइते भएका छन् भने २४३ जनालाई जीवितै उद्धार गरिएको छ ।

राजनीतिक अस्थिरता र उद्धारमा चुनौती
वेनेजुएलाको जटिल राजनीतिक र आर्थिक अवस्थाले उद्धार कार्यमा झनै कठिन बनाएको छ । पूर्व राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले हटाएपछि गत जनवरीमा कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी डेल्सी रोड्रिग्वेजले ला गुइरा क्षेत्रमा सेना परिचालन गरिएको र विदेशी सहायतालाई स्वागत गरिएको बताएकी छिन् ।

तर, लामो समयदेखि आर्थिक संकट झेलिरहेको वेनेजुएलाका नागरिकहरूले सरकारी उद्धार प्रयास अत्यन्तै सुस्त र अपर्याप्त रहेको गुनासो गरेका छन् । सडकमा सवारी चाप र अस्तव्यस्तताका कारण उद्धार टोलीहरूलाई घटनास्थल पुग्न समेत कठिनाइ भइरहेको छ ।

अन्तर्राष्ट्रिय सहयोग
विपद्को यो घडीमा मेक्सिको, अमेरिका, एल साल्भाडोर, स्विट्जरल्याण्ड र कोलम्बिया लगायतका देशबाट ८६१ जना तालिमप्राप्त स्वयंसेवकहरू वेनेजुएला पुगेका छन् । रेडक्रसका क्षेत्रीय निर्देशक लोयस पेसका अनुसार मानिसहरू यति धेरै डराएका छन् कि उनीहरू भत्किन बाँकी रहेका आफ्नै घरभित्र पस्न समेत आँट गरिरहेका छैनन् ।

अहिले भेनेजुएलाभरि शोकको वातावरण छ भने बेपत्ताका आफन्तहरू कुनै चमत्कार हुने र आफ्ना प्रियजन जीवितै फेला पर्ने आशमा भग्नावशेष कुरेर बसिरहेका छन् ।