बिपी राजमार्ग अवरुद्ध भएकाे आधा घण्टामै खुलाउने डिभिजन सडक कार्यालयको यस्ताे छ ‘रयापिड रेस्पोन्स’ योजना
काभ्रेपलाञ्चोक, २६ असार । गत असोजको विनाशकारी बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा मनसुनजन्य अवरोधलाई सम्बोधन गर्न विशेष ‘द्रुत प्रतिकार्य’ योजना अघि सारिएको छ। डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्ग अवरुद्ध भएको अवस्थामा अधिकतम ३० मिनेटभित्रै यातायात सुचारु गर्ने गरी प्राविधिक र उपकरणसहितको संयन्त्र तयार पारेको हो।
विगतमा रोशी खोलामा बनाइएका अस्थायी डाइभर्सनहरू सामान्य वर्षामा समेत बगाउँदा सडक पटक-पटक अवरुद्ध हुने गरेको थियो। यस समस्यालाई मध्यनजर गर्दै कार्यालयले साविककै स्थानमा ट्रयाक पुनर्निर्माण गरी सवारी सञ्चालनमा ल्याएको छ। डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार, अबको केही दिनभित्रै पुनर्निर्मित ट्रयाकहरू पूर्ण रूपमा सञ्चालनमा आउनेछन्।
विपद्को जोखिमलाई ध्यानमा राख्दै राजमार्गका विभिन्न खण्डमा हेभी इक्युपमेन्ट (डोजर, लोडर) र प्राविधिक टोलीलाई ‘स्ट्यान्डबाइ’ अवस्थामा राखिएको छ।
चौकीडाँडादेखि कटुञ्जेबेँसी, लाष्कोट, चारसयबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना हुँदै पिप्लेसम्म पुरानै ट्रयाकबाट सवारी चलाइएको छ । चौकीडाँडा, चारसयबेँसी, घुमाउनेबेँसी, बोक्सीकुना, चिउरीबास, कालढुङ्गा तथा पिप्ले–बर्खेखोला क्षेत्रलाई कार्यालयले उच्च जोखिमयुक्त स्थानका रूपमा पहिचान गरेको छ । क्षतिग्रस्त स्थानमा ग्राभेलको काम तथा अन्य केही स्थानमा वर्षाका ठूला ढुङ्गा राखेर सडक तयार गरिएको छ ।
विसं २०८१ असोजको बाढीपहिरोले राजमार्गको भकुन्डेबेँसीदेखि नेपालथोकसम्मको करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो । सवारी सञ्चालन गर्न रोशी खोलामा अस्थायी रूपमा बनाइएको डाइभर्सन पनि बाढीले बगाउने गरेको थियो ।
पुनर्निर्माणका क्रममा सडकलाई दुई लेनमा विस्तार गर्ने र साविकका साँघुरा ५ वटा पुलहरूलाई समेत दुई लेनमा परिणत गर्ने गरी गुरुयोजना तयार पारिएको छ। हाल काभ्रेतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चारवटा प्याकेजमा ठेक्का सम्झौता भई काम अगाडि बढिरहेको छ।