सम्पर्कविहीन २३ स्वास्थ्यकर्मीलाई बर्खास्त गर्ने चेतावनीसहित अन्तिम स्पष्टीकरण माग

काठमाडौँ, १ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लामो समयदेखि कार्यक्षेत्रमा अनुपस्थित रहेका स्वास्थ्य सेवाका २३ जना कर्मचारीहरूमाथि कडा विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाएको छ।

प्रचलित कानुनविपरीत बिदा स्वीकृत नगराई लगातार ६० दिनभन्दा बढी समयदेखि सम्पर्कविहीन रहेका ती स्वास्थ्यकर्मीहरूलाई मन्त्रालयले सफाइ पेस गर्ने अन्तिम अवसर प्रदान गरेको हो।

मन्त्रालयद्वारा प्रकाशित सार्वजनिक सूचना अनुसार, ती कर्मचारीहरूलाई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा (१) को खण्ड (ज) बमोजिमको आचरण उल्लङ्घन गरेको अभियोग लगाइएको छ। मन्त्रालयले सोही ऐनको दफा ७२ को खण्ड (ख) को उपखण्ड (१) अनुसार उनीहरूलाई ‘भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ (विभागीय सजाय) तयारी गरेको छ। सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण वा सफाइ पेस नगरेमा उनीहरूलाई पदबाट मुक्त गरिने मन्त्रालयले स्पष्ट पारेको छ।

कारबाहीको प्रक्रियामा परेका २३ जना स्वास्थ्यकर्मीहरू कान्ति बाल अस्पताल, महाराजगन्ज,वीर अस्पताल (कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल), राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, भक्तपुर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, आयुर्वेद चिकित्सालय, नरदेवी अस्पतालमा कार्यरत रहेका छन् ।