माइतीघरको डुबान समस्या सुल्झाउन छुट्टाछुट्टै ढल प्रणाली बनाइने : कार्यवाहक प्रमुख डङ्गोल
काठमाडौँ, १५ साउन । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले माइतीघर मण्डला क्षेत्रमा बर्सेनि हुने डुबान समस्याको दीर्घकालीन समाधानका लागि ढल र आकाशे पानी (वर्षा) निकासका लागि छुट्टाछुट्टै पाइप प्रणाली निर्माण गरिने बताउनुभएको छ ।
कार्यवाहक प्रमुख डङ्गोलले अहिले अधिकांश स्थानमा ढल र वर्षाको पानी एउटै प्रणालीबाट बगाइने गरेकाले सामान्यभन्दा बढी वर्षा हुनासाथ निकास प्रणालीले भार धान्न नसक्दा डुबानको समस्या बल्झिने गरेको बताउनुभयो । उहाँले यस समस्यालाई सधैँका लागि अन्त्य गर्न महानगरले गुरुयोजना बनाएर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“दीर्घकालीन समाधानका लागि ढल र वर्षाको पानी व्यवस्थापनलाई छुट्टाछुट्टै प्रणालीमा रूपान्तरण गर्नु अनिवार्य छ,” उहाँले भन्नुभयो, “यसका लागि सम्बन्धित सरोकारवाला निकायहरूसँग समन्वय गरी पूर्वाधार विकासमा लगानी बढाउन महानगरले पहल गरिरहेको छ ।”
तीव्र सहरीकरणका कारण पुराना ढल प्रणालीहरूले अहिलेको चाप धान्न नसकेको उल्लेख गर्दै उहाँले अब आधुनिक ‘स्टर्म वाटर ड्रेनेज’ (वर्षा पानी व्यवस्थापन प्रणाली) विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
ढल निकासमा भइरहेको अतिक्रमणका कारण पनि डुबानको समस्या थप जटिल बनेको उहाँको तर्क थियो । महानगरले हाल देखिएका यस्ता समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन दुवै प्रकारका योजनाहरू अघि सारेको उहाँले जानकारी दिनुभयो ।