अमेरिका-इरान युद्धको ६ महिना: ट्रम्पका दाबी अधुरै, विश्व व्यवस्थामा नयाँ हलचल—कसले के गुमायो, के पायो?

 

तेहरान/वाशिङ्गटन । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानको राजधानी तेहरानमा अचानक मिसाइल आक्रमण गरेर विश्वलाई स्तब्ध बनाएको ६ महिना पूरा भएको छ। सो आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी र कैयौँ उच्च सैन्य अधिकारीहरूको मृत्यु भएको थियो भने दक्षिणी इरानको मिनाबमा एउटा विद्यालयमा दर्जनौँ बालबालिकाहरूको ज्यान गएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त समयमा यो युद्ध “चार देखि पाँच हप्ता” मात्र चल्ने दाबी गरेका थिए। तर ६ महिना बितिसक्दा पनि युद्ध थामिएको छैन, बरु क्यास्पियन सागरदेखि हर्मुज जलसन्धिसम्म फैलिएको छ। यस अवधिमा ८ देखि १० हजार मानिसको मृत्यु भइसकेको छ भने दशौँ हजार घाइते भएका छन्।

यस युद्धले विश्वको शक्ति सन्तुलन र गठबन्धनलाई समेत बदलिदिएको विज्ञहरूको विश्लेषण छ। ६ महिनाको यो विनासकारी युद्धपछि दुवै पक्षको अवस्था यस्तो देखिन्छ:

१. आणविक लक्ष्य र वास्तविकता

युद्धको सुरुमा ट्रम्पले इरानको आणविक क्षमता “सखाप” पारेको दाबी गरेका थिए। तर, वास्तविकता फरक देखिन्छ। अमेरिकी र इजरायली दाबीअनुसार इरान अझै पनि आणविक हतियार बनाउन सक्ने अवस्थाको नजिक छ।

  • इरानको अडान: इरानसँग अझै ४४० केजी उच्च संवर्द्धित युरेनियम रहेको विश्वास गरिन्छ। ट्रम्प प्रशासनले उक्त भण्डार अमेरिकालाई बुझाउन माग गरे पनि इरानले त्यसलाई ठाडै अस्वीकार गर्दै आएको छ।

  • निष्कर्ष: विज्ञहरूका अनुसार इरानको आणविक केन्द्रमा क्षति पुगे पनि उसको आणविक ज्ञान र इन्धन पूर्ण रूपमा नष्ट भएको छैन।

२. सत्ता परिवर्तनको प्रयास

आक्रमणको पहिलो दिनमै सर्वोच्च नेता खामेनीको हत्या गरेर अमेरिकाले इरानमा सत्ता परिवर्तन (Regime Change) को सपना देखेको थियो। ट्रम्पले इरानी जनतालाई “आफ्नो देश फिर्ता लिन” आह्वान गरेका थिए।

  • वर्तमान अवस्था: इरानको राजनीतिक संरचनामा खासै ठूलो परिवर्तन आएको छैन। मारिएका खामेनीका छोरा मोज्तबा खामेनी नयाँ सर्वोच्च नेता बनेका छन् र शासन व्यवस्था पुरानै शैलीमा चलिरहेको छ। सैन्य विज्ञहरू भन्छन्— “नेता मार्नु सामरिक सफलता त हुन सक्छ, तर यसले रणनीतिक लक्ष्य प्राप्ति गर्दैन।”

३. ‘प्रतिरोधको अक्ष’ (Axis of Resistance) र प्रोक्सी समूह

अमेरिकाले हिजबुल्लाह, हुथी र हमासजस्ता इरान समर्थित समूहहरूलाई निस्तेज पार्ने लक्ष्य राखेको थियो। तर, ६ महिना बित्दा पनि यी समूहहरू सक्रिय नै छन्।

  • हिजबुल्लाहले इरानको बचाउमा इजरायलसँग युद्ध लडिरहेको छ।

  • यमनका हुथी विद्रोहीहरूले साउदी अरबको नाकाबन्दी गर्दै इरानलाई साथ दिइरहेका छन्।

  • जुलाईमा भएको एक मिसाइल आक्रमणमा जोर्डनमा ३ अमेरिकी सैनिकको मृत्यु भयो, जसले इरानी मिसाइल क्षमता अझै जीवितै रहेको पुष्टि गर्छ।

४. आर्थिक संकट र तेलको राजनीति

यो युद्धको सबैभन्दा ठूलो असर विश्वव्यापी तेल आपूर्तिमा परेको छ।

  • हर्मुज जलसन्धि: इरानले विश्वको एक-पाचौँ तेल ढुवानी हुने हर्मुज जलसन्धि लगभग बन्द गरिदिएको छ। जसका कारण दैनिक १०० जहाज हिँड्ने यो मार्गमा अहिले मुस्किलले ५ वटा जहाज मात्र चल्छन्।

  • अमेरिकामा असर: अमेरिकामा पेट्रोलको मूल्य दोब्बर भएको छ, जसका कारण राष्ट्रपति ट्रम्पको लोकप्रियता घटेको छ। एउटा सर्वेक्षणअनुसार दुई-तिहाइ अमेरिकीहरू यो युद्धको विपक्षमा छन्।

  • इरानको अवस्था: अमेरिकी नाकाबन्दीका कारण इरानी मुद्रा ‘रियाल’ को भ्यालु कोल्याप्स भएको छ। खाद्यान्नको मूल्य आकासिएको छ र तेल राजस्वमा अर्बौँ डलरको घाटा लागेको छ।

५. अन्तर्राष्ट्रिय गठबन्धनमा आएको दरार

यो युद्धले अमेरिका र उसका परम्परागत मित्र शक्तिहरूबीचको सम्बन्धमा चिसोपन ल्याएको छ।

  • नेटो (NATO) को अनिच्छा: स्पेन, इटाली, जर्मनी र फ्रान्स जस्ता राष्ट्रहरूले यो युद्धमा अमेरिकालाई साथ दिन अस्वीकार गरेका छन्। उनीहरूले अमेरिकी नाकाबन्दीमा आफ्ना युद्धपोत पठाउन मानेनन्।

  • इरानको पक्ष: इरानमाथि आक्रमण भए पनि चीन र रुससँगको उसको व्यापारिक र राजनीतिक सम्बन्ध अझै बलियो देखिन्छ। चीनले प्रतिबन्धको विरोध गर्दै इरानसँग सन्तुलित सम्बन्ध कायम राखेको छ।

६. सैन्य क्षति

  • इरान: ट्रम्पका अनुसार इरानको ८२ प्रतिशत मिसाइल भण्डार र नौसेना ध्वस्त भएको छ। यद्यपि, इरानले अझै पनि ‘शाहेद’ ड्रोन र लामो दूरीका मिसाइलहरू प्रयोग गरिरहेको छ। अप्रिलसम्म १,२२१ इरानी सैनिक मारिएको तथ्यांक छ।

  • अमेरिका: अमेरिकाले १८ सैनिक गुमाएको छ भने ७५० भन्दा बढी घाइते भएका छन्। तर, अमेरिकाको ‘प्याट्रियट’ डिफेन्स मिसाइलको भण्डार रित्तिँदै गएको रिपोर्टहरूले पेन्टागनलाई चिन्तित बनाएको छ।

 विजेता को?

छ महिना लामो यो भीषण युद्धमा अहिलेसम्म कोही पनि स्पष्ट विजेता देखिएको छैन। विश्लेषक आलम सालेहका अनुसार, “अमेरिकाले आफ्नो सैन्य श्रेष्ठतालाई राजनीतिक जितमा बदल्न सकेको छैन, भने इरान बाँच्नुलाई मात्र उसको विजय मान्न सकिँदैन।”

यो युद्धले अमेरिकालाई मध्यपूर्वमा अल्झाउँदा प्रशान्त महासागर क्षेत्रमा चीनको प्रभाव बढ्ने र रुसले नयाँ रणनीतिक लाभ लिने सम्भावना बढेको छ। ६ महिनाको अन्त्यमा, न त ट्रम्पले भनेजस्तो “लोकतन्त्र” स्थापना भएको छ, न त इरानले पूर्ण सुरक्षा महसुस गर्न सकेको छ। विश्वले भने अझै महँगी र अनिश्चितताको सामना गरिरहनुपरेको छ।