खोटाङमा मेला भरेर फर्किएका भक्तजन चढेको ट्याक्टर दुर्घटना : ३४ घाइते, २० जनालाई काठमाडौँ पठाइयो
खोटाङ, १२ भदौ । खोटाङमा धार्मिक मेला भरेर घर फर्कँदै गरेका भक्तजन चढेको ट्याक्टर दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित छेपेखोलामा ना ५ त ४५५५ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
नगरपालिकाको वडा नं ६ नेर्पास्थित भुलभुले दूधकुण्डमा लागेको धार्मिक मेला भरेर फर्किएका भक्तजनहरू दुर्घटनामा परेका हुन् । गुडिरहेको ट्याक्टरको ट्रली बीच सडकमै घोप्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निराजन बस्नेतका अनुसार घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । घाइतेहरूको टाउको, हातखुट्टा र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि २० जना घाइतेलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । बाँकी १४ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।
नगरपालिकाका उपप्रमुख विशन राईले दिउँसोदेखि भइरहेको भीषण वर्षाका कारण उद्धार कार्यमा केही कठिनाइ भएको बताउनुभयो । “निरन्तरको वर्षाका बाबजुद नगरपालिकाको एम्बुलेन्स र सुमो जिप रिजर्भ गरेर घाइतेहरूलाई थप उपचारका लागि काठमाडौँ पठाउने व्यवस्था मिलाएका छौँ,” उहाँले भन्नुभयो ।
प्रहरीले ट्याक्टर चालक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–७ का २३ वर्षीय रिनिमा शेर्पालाई नियन्त्रणमा लिएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवाभञ्ज्याङबाट दिक्तेलतर्फ आउँदै गरेको खाली ट्याक्टर रोकेर भक्तजनहरू चढेको र सोही क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।