भोटेकोशी बाढी : मृतकको सङ्ख्या ४८९ पुग्यो, सुरक्षाकर्मीसहित २३ सयभन्दा बढी अझै बेपत्ता

काठमाडौँ, १२ भदौ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ४८९ पुगेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार दिउँसो १२:०० बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीको बहावले बगाएर ल्याएका शवहरू विभिन्न आठ जिल्लामा फेला परेका हुन् ।

बाढीको तीव्र प्रवाहले बगाएर ल्याएका शवहरू रसुवाभन्दा तल्लो तटीय जिल्लाहरूमा धेरै भेटिएका छन् । प्रहरीका अनुसार जिल्लागत रूपमा फेला परेका शवको सङ्ख्या यसप्रकार छ: चितवन : १८६ जना, नवलपरासी पूर्व : ११२ जना, गोरखा : ४४ जना, धादिङ : ४० जना, नुवाकोट : ३७ जना, तनहुँ : २९ जना, नवलपरासी पश्चिम : २८ जना, रसुवा : १३ जना रहेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १,५४५ जनाको जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये नुवाकोटबाट ८९८, रसुवाबाट ५७२ र धादिङबाट ३ जना रहेका छन् । बाढीमा परी गम्भीर घाइते भएका ८७ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ, जसको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बाढीमा परी सर्वसाधारणसहित कुल २,३८१ जना अझै सम्पर्कविहीन छन् । बेपत्ता हुनेहरूमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी र सरकारी कर्मचारी समेत रहेका छन् । नेपाली सेना : ४४ जना, नेपाल प्रहरी : २८ जना, सशस्त्र प्रहरी बल : १३ जना, भन्सार कार्यालय टिमुरे : १५ जना, अध्यागमन कार्यालय टिमुरे : ४ जनासहित सर्वसाधारण रहेका छन् ।

बाढी प्रभावित क्षेत्रमा बेपत्ताहरूको खोजी र उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली अहोरात्र खटिएको छ । भौगोलिक विकटता र सञ्चार सम्पर्क विच्छेद भएका कारण कतिपय स्थानमा पुग्न कठिन भए पनि सुरक्षाकर्मीहरूले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी कार्यलाई तीव्रता दिएका छन् । मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ ।