बाढीपीडितको पुनःस्थापना र उपचारमा कुनै कसर बाँकी नराख्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

 

काठमाडौँ | काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बाढीपहिरोका कारण घाइते भई अस्पतालमा उपचाररत व्यक्तिहरूको उचित उपचार र परिवार तथा सम्पत्ति गुमाएकाहरूको तत्काल पुनःस्थापना गर्न निर्देशन दिनुभएको छ ।

मुलुकका विभिन्न भागमा आएको बाढीजन्य विपद्का कारण घाइते भएकाहरूको अवस्था बुझ्न शिक्षण अस्पताल (टिचिङ) र राष्ट्रिय ट्रमा सेन्टर पुग्नुभएकी डंगोलले पीडितहरूलाई सहारा प्रदान गर्नु महानगरको प्राथमिकता रहेको बताउनुभयो ।

अस्पतालमै पुगेर लिइन् घाइतेको जानकारी
कार्यवाहक प्रमुख डंगोलले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित भई काठमाडौँमा उपचार गराइरहेका घाइते र उनीहरूका आफन्तसँग कुराकानी गर्नुभएको थियो । निरीक्षणका क्रममा उहाँले स्वास्थ्य विभागका प्रमुख दिपककुमार के.सी. र महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुप्रसाद जोशीसहितका अधिकारीहरूलाई पीडितको व्यवस्थापनमा जुट्न निर्देशन दिनुभयो ।

सो क्रममा परिवारका सबै सदस्य बेपत्ता भई आफू समेत घाइते अवस्थामा रहेकी एक बालिकासँग कुरा गर्दै डंगोल निकै भावुक बन्नुभएको थियो । उहाँले भन्नुभयो, “अहिले राष्ट्रिय संकटको घडी छ । यतिबेला संकटमा परेकाहरूको जीवन बचाउनु र राहत दिनु हाम्रो मुख्य दायित्व हो । परिवार र आफन्त गुमाएकाहरूका लागि महानगरपालिकाले अभिभावक बनेर सहारा प्रदान गर्नेछ ।” उहाँले विपद्ले सर्वश्व गुमाएका व्यक्तिका लागि तत्काल पुनःस्थापनाको योजना अगाडि बढाउन समेत कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

औषधि र उपकरणको अभाव हुन नदिने प्रतिबद्धता
अस्पताल निरीक्षणका क्रममा उहाँले ‘रेड जोन’ मा रहेका गम्भीर घाइते र आईसीयूमा उपचाररत बिरामीको अवस्थाबारे जानकारी लिनुभएको थियो । अस्पतालका उपनिर्देशकहरू डा. पवनराज चालिसे र डा. गोपाल सेढाईँ तथा गुनासो अधिकारी विपिन उपाध्यायले बिरामीको उपचार विधि र अस्पतालको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

अस्पतालका उपनिर्देशक डा. चालिसेले अनपेक्षित रूपमा आकस्मिक स्वास्थ्य सेवा लिन आउनेको संख्या बढेकाले पर्याप्त औषधिको अभाव हुन सक्ने र त्यसमा महानगरले सहयोग गर्नुपर्ने बताउनुभएको थियो । अस्पतालको आग्रहपछि कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, “आवश्यक परेका औषधि र सामग्रीका बारेमा निर्धक्क भन्नुहोला, महानगर र अस्पताल एकसाथ भएर यो संकटको सामना गर्नेछौँ ।”

ट्रमा सेन्टर र बेपत्ता खोजी कक्षको निरीक्षण
राष्ट्रिय ट्रमा सेन्टरमा पुग्दा कार्यकारी निर्देशक डा. रुद्र मरासिनीले घाइतेहरूको उपचारको पछिल्लो अवस्थाबारे जानकारी गराउनुभएको थियो । साथै, डंगोलले अस्पताल बाहिर रहेका बेपत्ता व्यक्तिहरूको नाम टिपाउने कक्षको समेत निरीक्षण गरी आफन्तहरूको पीडा सुन्नुभएको थियो ।

विपद्को यस समयमा महानगरपालिकाले उद्धार, उपचार र राहतलाई एकीकृत रूपमा अगाडि बढाउने र कोही पनि नागरिक बेसहारा हुन नदिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।