रोड टू यूएफसीको फाइनलमा नेपाली फाइटर रवीन्द्र ढाँटको ऐतिहासिक प्रवेश
काठमाडौँ, भदौ १२ । नेपाली मिक्स मार्सल आट्र्स (एमएमए) का प्रतिभावान खेलाडी रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा प्रवेश गर्नुभएको छ । बुधबार सम्पन्न सेमिफाइनल खेलमा न्युजिल्याण्डका प्रतिद्वन्द्वी कासिब मोर्डोचलाई पराजित गर्दै उहाँ उपाधि भिडन्तका लागि छनोट हुनुभएको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक रहेको उक्त खेलमा उहाँले अन्तिम चरणमा उत्कृष्ट प्रदर्शन गर्दै सानदार पुनरागमन (कमब्याक) गर्नुभयो । तीन राउण्डसम्म चलेको कडा सङ्घर्षपछि निर्णायकहरू (रेफ्री) ले उहाँलाई विजयी घोषित गरेका थिए । आफ्नो कौशल र धैर्यता प्रदर्शन गर्दै उहाँ फाइनलको यात्रा तय गर्न सफल हुनुभएको छ ।
अब उहाँले उपाधिका लागि फाइनल खेलमा जापानका प्रख्यात फाइटर रियो ताजिमासँग प्रतिस्पर्धा गर्नुहुनेछ । विश्वकै प्रतिष्ठित मार्सल आट्र्स विधा ‘यूएफसी’ मा स्थान बनाउने लक्ष्यका साथ अघि बढ्नुभएका ढाँटको यस सफलताले नेपाली खेलकुद जगतमा नयाँ उत्साह र गौरव थपेको छ ।