पृथ्वी राजमार्ग अवरुद्ध भएपछि बिपी राजमार्गमा सवारी चाप : मालवाहक गाडी राति मात्र चल्न पाउने

काभ्रेपलाञ्चोक, १९ भदौ । पृथ्वी राजमार्गको कृष्णभीरमा बाढी र पहिरोका कारण सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा रहेको बिपी राजमार्गमा सवारी साधनको चाप अत्यधिक बढेको छ । बढ्दो जाम र सवारी चापलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले यातायात व्यवस्थापनका लागि नयाँ नियम लागू गरेको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले बिपी राजमार्गमा मालवाहक सवारीसाधनहरू रातिको समयमा मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको छ । राजमार्गको चाप कम गर्न र साना यात्रुवाहक सवारीको आवागमनलाई सहज बनाउन यस्तो व्यवस्था गरिएको हो ।

राजमार्गको भौगोलिक अवस्था र सडकको चौडाइलाई ध्यानमा राख्दै १० टनभन्दा बढी तौल भएका मालवाहक सवारीसाधनलाई रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सडकमा जाम हुन नदिन सिन्धुली प्रशासनसँगको समन्वयमा ‘आलोपालो प्रणाली’ लागू गरिएको छ । धुलिखेलबाट खुर्कोटतर्फ जाने र उताबाट आउने ट्रकहरू साँघुरा घुम्तीमा एकैसाथ नपर्ने गरी समय तालिका मिलाइएको उहाँले जानकारी दिनुभयो ।

खाना पकाउने ग्यासका बुलेट तथा ठुला मालवाहक गाडीहरूलाई बिपी राजमार्गअन्तर्गतको धुलिखेल–भकुण्डे सडकखण्डमा सुरक्षाकर्मीको प्रत्यक्ष निगरानी र स्कर्टिङमा मात्र पार गराइने व्यवस्था मिलाइएको छ । यसबाट सम्भावित दुर्घटना न्यूनीकरण हुने र सवारी प्रवाह सहज हुने प्रशासनको विश्वास छ ।

डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गका जोखिमयुक्त र साँघुरा स्थानहरूको पहिचान गरी मर्मत कार्य अघि बढाएको छ । डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले सडक अवरुद्ध हुन नदिन विभिन्न स्थानमा डोजर तथा लोडरहरू तयारी अवस्थामा राखिएको बताउनुभयो । “हामीले साँघुरा घुम्तीहरूमा सुधार गर्ने काम तत्काल थालेका छौँ ता कि ठुला सवारीलाई मोडिन सहज होस्,” उहाँले भन्नुभयो । राजमार्गमा सवारीको चाप बढेसँगै ट्राफिक प्रहरीले यात्रु र चालकलाई धैर्य रहन र ट्राफिक नियमको पूर्ण पालना गर्न विशेष आग्रह गरेको छ ।