बाढी–पहिरो प्रभावितका लागि सहयोगार्थ ‘आर्ट फर होप’ कला प्रदर्शनी सुरु, चित्र बिक्रीको रकम सम्पूर्ण सहयाेग गरिने

काठमाडौँ, १९ भदौ । भोटेकोशीको विनाशकारी बाढी र पहिरोबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनाका लागि काठमाडौँको खुसिबुमा आजदेखि विशेष चित्र कला प्रदर्शनी सुरु भएको छ । ‘आर्ट फर होप’ (Art for Hope) नाम दिइएको उक्त प्रदर्शनी परम्परागत आरोग्य संस्था नेपाल, आर्ट बुम र नेपाः व्याङ्क्वेटको संयुक्त प्रयासमा आयोजना गरिएको हो ।

बाढी र पहिरोले घरबारविहीन भएकाहरूको पीडामा मल्हम लगाउने उद्देश्यले आयोजना गरिएको यस प्रदर्शनीमा बरिष्ठ कलाकार राधेश्याम मुल्मीदेखि विभिन्न कलाकारका सिर्जनाहरू राखिएका छन् । प्रदर्शनीबाट संकलन हुने रकम र चित्र बिक्रीबाट प्राप्त हुने आम्दानी प्रत्यक्ष रूपमा बाढी पीडितहरूलाई खर्च गरिने आयोजकले जनाएको छ ।

आर्ट बुमका अध्यक्ष रत्न शाक्यले यस प्रदर्शनीलाई केवल कलाको प्रदर्शन मात्र नभई मानवीय सेवा र आशाको निम्तोका रूपमा लिन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “तपाईंले किनेको हरेक चित्र, बाढीले घर उजाडिएका कसैको ओत लाग्ने ठाउँको एउटा इँटा बन्नेछ । त्यसैले यस पुण्य कार्यमा सबैको हातेमालो आवश्यक छ ।” उहाँले ३५ कलाकारकाे १८० सिर्जनाहरू राखिएकाे बताउनुभयाे । विसुद्ध बाढी–पहिरो प्रभावितका लागि सहयोगार्थ भएकाले कलाकार र सिर्जनाहरू बढ्न सक्ने उहाँले बताउनुभयाे ।

अध्यक्ष शाक्यका अनुसार आज पहिलाे दिनकाे सुरूवातमै रू १० हजारकाे पेन्टिङ बिक्री भइसकेकाे बताउँदै सम्पूर्ण कला प्रेमी, शुभचिन्तक तथा सहयोगी महानुभावहरूलाई विपतमा सहयाेगका लागि अनुराेध गरिएकाे छ ।

खुसिबुस्थित नेपाः व्याङ्क्वेटमा भइरहेको यो प्रदर्शनी भदौ १९, २० र २१ गतेसम्म चल्नेछ । इच्छुक कला प्रेमी, शुभचिन्तक तथा सहयोगी महानुभावहरूले बिहान ११ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म प्रदर्शनीको अवलोकन गरी चित्र खरिद वा सिधै सहयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

विपद्को यस घडीमा कला र सिर्जनाका माध्यमबाट राहत जुटाउने यो प्रयासले पीडितहरूको पुनःस्थापनामा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।