खोटाङको दिक्तेलमा विस्फोटक पदार्थ फेला: सोमबार निष्कृय पारिने, सतर्क रहन आग्रह
काठमाडौँ, भदौ २१ । खोटाङ जिल्लाको मुख्य व्यापारिक केन्द्र दिक्तेल बजारस्थित बेसक्याम्प क्षेत्रमा फेला परेको विस्फोटक पदार्थलाई सोमबार बिहान निष्कृय पारिने भएको छ । आइतबार साँझ स्थानीयले फुटसल मैदान निर्माणका लागि जग्गा खन्ने क्रममा बेवारिसे अवस्थामा उक्त विस्फोटक पदार्थ फेला पारेका हुन् ।
रणभीम गण, मुडे ब्यारेकका गणपति प्रमुख सेनानी पवन कार्कीका अनुसार साँझको समयमा विस्फोटक पदार्थ फेला परेकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी भोलि (सोमबार) बिहान मात्रै सेनाको टोलीले त्यसलाई निष्कृय पार्ने तयारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले सशस्त्र द्वन्द्वकालमा सो स्थानमा सुरक्षा फौजको क्याम्प रहेकाले सोही समयमा छाडिएका वा गाडिएका विस्फोटक पदार्थ हुन सक्ने बताउनुभयो । द्वन्द्वकालमा उक्त बेसक्याम्पमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त फौज बस्ने गर्दथ्यो ।
सुरक्षा निकायले विस्फोटक पदार्थ फेला परेको आसपासको क्षेत्रमा तत्काल आवतजावत नगर्न र उच्च सावधानी अपनाउन स्थानीय बासिन्दालाई आग्रह गरेको छ। बेसक्याम्प अन्यत्र सरेपछि उक्त जग्गामा खेतीपाती र निर्माण कार्य गर्ने क्रममा यसअघि पनि पटक–पटक यस्ता विस्फोटक पदार्थहरू फेला पर्दै आएका छन्। प्रशासनले यस्ता शङ्कास्पद वस्तु फेला परेमा तुरुन्त सुरक्षा निकायलाई खबर गर्न समेत अपिल गरेको छ ।