हर्मुज जलमार्गमा बढ्दो तनाव : इरानद्वारा साउदी र टर्कीसँग उच्चस्तरीय सुरक्षा छलफल

एजेन्सी, २१ भदौ । रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलमार्गमा अमेरिका र इरानबीच सैन्य झडप तीव्र बनेपछि इरानले क्षेत्रीय शक्ति राष्ट्रहरूसँग कूटनीतिक परामर्श सुरु गरेको छ। इरानी परराष्ट्र मन्त्री सैयद अब्बास अराघचीले हर्मुजको सुरक्षा र विकसित क्षेत्रीय घटनाक्रमबारे साउदी अरब र टर्कीका आफ्ना समकक्षीहरूसँग टेलिफोनमा विस्तृत छलफल गर्नुभएको छ।

इरानी समाचार संस्थाका अनुसार विदेशमन्त्री अराघचीले शनिबार राति साउदी विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउद र टर्कीका विदेशमन्त्री हाकान फिदानसँग बेग्लाबेग्लै संवाद गर्नुभएको हो।

वार्ताका क्रममा तीनै देशका विदेशमन्त्रीहरूले पश्चिम एसियामा स्थिरता कायम गर्न र हर्मुज जलमार्गमा उत्पन्न असुरक्षालाई सम्बोधन गर्ने विषयमा परामर्श गरेका छन्। इरानी पक्षले यस क्षेत्रमा संयुक्त राज्य अमेरिकाको ‘आक्रामक कार्य’ का कारण जलमार्ग असुरक्षित बनेको दाबी गर्दै यसलाई रोक्न कूटनीतिक प्रयास हुनुपर्नेमा जोड दिएको छ।

यो कूटनीतिक पहल शनिबार बिहान हर्मुज जलमार्गमा अमेरिका र इरानबीच भएको भीषण सैन्य मुठभेडपछि आएको हो। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि जवाफमा अमेरिकी सेनाले इरानका तीन वटा कच्चा तेल ढुवानी गर्ने जहाजहरूमा प्रहार गरेको थियो।

यता इरानको आईआरजीसीले भने अमेरिकी युद्धपोतहरूले इरानी जहाजलाई दुःख दिएको र समुद्री नाकाबन्दी लगाएकाले प्रतिशोधस्वरूप ब्यालेस्टिक मिसाइल प्रहार गरिएको दाबी गरेको छ। आईआरजीसीले हर्मुजको संरक्षित क्षेत्रमा प्रवेश गर्न खोजेको अर्को एक अमेरिकी जहाजमाथि पनि आक्रमण गरेको बताएको छ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि यो क्षेत्रमा तनाव उत्कर्षमा पुगेको छ। त्यसयता तेहरानले हर्मुज जलमार्गबाट हुने आवागमनमा कडा प्रतिबन्ध लगाएको छ भने अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा आउने-जाने जहाजहरूलाई लक्षित गरी नौसैनिक नाकाबन्दी गर्दै आएको छ। विश्वको तेल आपूर्तिको प्रमुख मार्ग मानिने हर्मुजमा बढेको यो सैन्य तनावले अन्तर्राष्ट्रिय बजार र क्षेत्रीय सुरक्षामा गम्भीर चुनौती थपेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *