बेनी नगरपालिकामा लगातार चौथो वर्ष ‘शून्य होम डेलिभरी’ कायम
काठमाडौँ, भदौ २८ । म्याग्दीको बेनी नगरपालिकाले घरमा हुने असुरक्षित प्रसूतिलाई निरुत्साहित गर्दै लगातार चौथो वर्ष ‘शून्य होम डेलिभरी’ को अवस्था कायम राख्न सफल भएको छ । नगरपालिकाले चालेका प्रभावकारी स्वास्थ्य रणनीति र सचेतनामूलक अभियानका कारण आर्थिक वर्ष २०७८/७९ यता कोही पनि महिलाले घरमा बच्चा जन्माउनुपर्ने अवस्था नरहेको नगरपालिकाले जनाएको छ ।
घरमा प्रसूति हुँदा आमा र नवजात शिशु दुवैको ज्यान जोखिममा पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै नगरपालिकाले सुरक्षित प्रसूति सेवालाई उच्च प्राथमिकतामा राखेको छ । नगर प्रमुख सुरत केसीका अनुसार विगत तीन वर्षदेखि सतप्रतिशत गर्भवती महिलाहरूले स्वास्थ्य संस्था पुगेर दक्ष स्वास्थ्यकर्मीबाट सेवा लिइरहेका छन् ।
“हामीले प्रसूतिका कारण हुनसक्ने सम्भावित जोखिम न्यूनीकरण गरी मातृ तथा शिशु मृत्युदर घटाउने लक्ष्य लिएका छौँ,” नगर प्रमुख केसीले भन्नुभयो, “यस उपलब्धिलाई निरन्तरता दिन र नगरबासीलाई थप जागरूक बनाउन सचेतनामूलक कार्यक्रमहरूलाई अझै तीव्र पारिएको छ ।”
नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार पछिल्ला वर्षहरूमा सुरक्षित प्रसूति सेवा लिनेको सङ्ख्यामा समेत स्पष्ट तथ्याङ्क देखिएको छ। जनस्वास्थ्य अधिकृत दिपेश पौडेलका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ८४७ जना, २०७९/८० मा ६७७ जना, २०८०/८१ मा ३९२ जना र २०८१/८२ मा ४३७ जनाले स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिएका छन् । चालू आर्थिक वर्ष २०८२/८३ को हालसम्म ३४४ जनाले सुरक्षित प्रसूति सेवा लिइसकेका छन् ।
बेनी नगरपालिकाभित्र हाल बेनी अस्पतालका अतिरिक्त ज्यामरुककोट, भकिम्ली, सिङ्गा, पुलाचौर र पात्लेखेत स्वास्थ्य चौकीमा सुरक्षित प्रसूति सेवा (बर्थिङ सेन्टर) सञ्चालनमा रहेका छन् । स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा र दक्ष जनशक्तिको उपलब्धताले गर्दा घरमै सुत्केरी हुने पुरानो चलन पूर्ण रूपमा हटेको नगरपालिकाको दाबी छ ।
दश वटा वडा रहेको यस नगरपालिकाले स्वास्थ्य सेवामा पहुँच बढाउन र सुरक्षित मातृत्व सुनिश्चित गर्न विभिन्न प्रोत्साहनका कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ ।