जंगली च्याउ टिप्न गएका बझाङका युवा छ दिनदेखि बेपत्ता, खोजी जारी
बझाङ, २९ भदौ । बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का छ दिनदेखि बेपत्ता भएका छन्।
गत भदौ २३ गते बिहान लहरे सामुदायिक वनअन्तर्गत डाँडाकोट क्षेत्रमा जंगली च्याउ टिप्न जाने भन्दै घरबाट निस्किएका खड्का साँझसम्म फर्किने बताए पनि हालसम्म सम्पर्कविहीन छन्।
जंगलबाट नफर्किएपछि परिवार, आफन्त र स्थानीयवासीले उनको खोजी सुरु गरेका छन्। तर डाँडाकोट क्षेत्र बझाङ र बाजुराको सिमानामा पर्ने भएकाले सम्भावित क्षेत्रमा खोजी गर्न कठिनाइ भइरहेको परिवारले जनाएको छ।
खड्का बेपत्ता भएको छ दिन बितिसक्दा पनि उनको अवस्थाबारे कुनै जानकारी नपाइएपछि परिवार थप चिन्तित बनेको छ। उक्त क्षेत्रमा मोबाइल नेटवर्क समेत नहुँदा खोजीकार्य र आपसी सम्पर्कमा समस्या भइरहेको उनका काका फिट्टु खड्काले बताए।
परिवारले बेपत्ता खड्काको खोजीकार्य थप तीव्र बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयलगायत सम्बन्धित निकायसँग आग्रह गरेको छ। खोजीमा आवश्यक जनशक्ति परिचालन गर्नुका साथै सकेसम्म प्रविधिको समेत प्रयोग गर्न परिवारले अपिल गरेको छ।
