बिपी राजमार्ग खुलाउन तीव्रता, भोलि दिउँसोदेखि सञ्चालनमा आउने
काभ्रेपलाञ्चाेक, १२ असोज । लगातार चार दिनको वर्षाका कारण पहिरो र रोशी नदीको कटानले विभिन्न स्थानमा अवरुद्ध बनेको बिपी राजमार्ग खुलाउन प्रयास तीव्र पारिएको छ ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार खुर्कोट–भकुण्डेबेँसी खण्डमा सडक सञ्चालनका लागि अवरोध हटाउने काम भइरहेको छ । डिभिजन सडक कार्यालय भक्तपुरको टोली आज बिहानैदेखि सडक खुलाउन खटिएको छ ।
मौसमले साथ दिएमा असोज १३ गते अपराह्नदेखि सडक सञ्चालनमा ल्याउन सकिने सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो ।
पछिल्ला केही दिनको वर्षाले बिपी राजमार्गमा वर्षायाममा दोहोरिँदै आएको बाढी, पहिरो र नदी कटानको समस्या पुनः देखिएको छ ।
विसं २०८१ असोजमा आएको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढी र पहिरोले काभ्रे खण्डमा राजमार्गमा ठूलो क्षति पुर्याएको थियो । सडकको ठूलो भाग बगेपछि तत्काल यातायात सञ्चालनका लागि विभिन्न स्थानमा अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।
हाल राजमार्ग स्थायी पुनर्निर्माणको चरणमा रहेको छ । वर्षाका कारण निर्माण गरिएका अस्थायी संरचनासमेत प्रभावित हुँदा यातायात सञ्चालनमा समस्या भएको हो ।
पूर्वी तथा मध्य नेपाललाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने महत्वपूर्ण मार्गका रूपमा रहेको बिपी राजमार्ग जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक तथा आर्थिक सहयोगमा निर्माण भएको हो ।
