आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनका लागि विभिन्न स्थानमा पार्किङ

काठमाडौँ, १८ असोज । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ। महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिका सवारीसाधन व्यवस्थापनका लागि विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ।

कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरका अनुसार ट्राफिक प्रहरीसँगको समन्वयमा खुलामञ्च आउने प्रतिनिधिका सवारीसाधनका लागि पार्किङस्थल तोकिएको हो।

उनका अनुसार धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको एकतर्फी सडकको एक लेन तथा दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्था गरिएको छ।

त्यस्तै, पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र पनि थप सवारीसाधन पार्किङको व्यवस्था मिलाउन ट्राफिक प्रहरीसँग समन्वय भइरहेको संयोजक स्वाँरले जानकारी दिनुभयो।

कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा देशभरका साथै विदेशस्थित जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *