सम्पदा क्षेत्रमा सांस्कृतिक उत्सवसँगै सुरु भयो काठमाडौं फिल्म फेस्टिभल, कलाकारले भने– ‘हामीले देखेका महोत्सवभन्दा नौलो प्रयोग’

कार्यवाहक मेयरको परिकल्पना र पहलमा सुरु भएको तीनदिने फेस्टिभलले नेपाली कला, संस्कृति र चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विश्वास

काठमाडौं, १३ कात्तिक । काठमाडौं महानगरपालिकाको आयोजनामा ‘काठमाडौं फिल्म फेस्टिभल’ सुरु भएको छ। चलचित्र प्रदर्शनमा मात्र सीमित नरही मौलिक कला, संस्कृति र ऐतिहासिक सम्पदालाई समेत जोडेर आयोजना गरिएको फेस्टिभललाई सहभागी कलाकारहरूले आफूले यसअघि अनुभव गरेका महोत्सवभन्दा फरक र नवीन प्रयोगका रूपमा लिएका छन्।

वसन्तपुरमा बिहीबार सम्पदा पदयात्रासँगै सुरु भएको फेस्टिभलको उद्घाटन कार्यक्रममा ऐतिहासिक सम्पदा क्षेत्रका डबली, चोक तथा मन्दिरका सिँढीलाई सांस्कृतिक प्रस्तुति स्थलका रूपमा उपयोग गरिएको थियो। ती स्थानमा गायन, वादन तथा नृत्यका प्रस्तुतिले उत्सवमय वातावरण सिर्जना गरेका थिए।

सांस्कृतिक प्रस्तुतिको अवलोकन गर्न पुगेका कलाकार तथा दर्शकहरू कार्यक्रममा सहभागी मात्रै भएनन्, उनीहरू आफैँ पनि गाएर तथा नाचेर रमाएका थिए। परम्परागत सांस्कृतिक परिवेशमा आयोजित खुला कार्यक्रमले काठमाडौंको मौलिक कला र संस्कृतिलाई जीवन्त रूपमा प्रस्तुत गरेको थियो।

कार्यक्रममा सहभागी कलाकारहरूले सम्पदा क्षेत्रलाई चलचित्र तथा सांस्कृतिक गतिविधिको केन्द्र बनाएर आयोजना गरिएको फेस्टिभल नयाँ सोच र सिर्जनात्मक प्रयोग भएको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार यस्ता कार्यक्रमले चलचित्र, कला, संस्कृति र सम्पदाबीचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै सर्वसाधारणलाई समेत सांस्कृतिक गतिविधिसँग प्रत्यक्ष जोड्ने अवसर प्रदान गर्छ।

कार्यवाहक मेयरको परिकल्पनामा तीनदिने फेस्टिभल

काठमाडौं महानगरपालिकाका कार्यवाहक मेयरको परिकल्पना तथा पहलमा आयोजना भएको तीनदिने काठमाडौं फिल्म फेस्टिभलले नेपाली कला, संस्कृति, चलचित्र क्षेत्र र कलाकारहरूलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने वरिष्ठ कलाकारहरूले बताएका छन्।

फेस्टिभलको आयोजना नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धनका लागि सकारात्मक पहल भएको उल्लेख गर्दै कलाकारहरूले यसलाई सफल बनाउन महानगरपालिका तथा कार्यवाहक मेयरलाई धन्यवाद दिएका छन्। उनीहरूका अनुसार यस्ता कार्यक्रमले नेपाली चलचित्रको मौलिक पहिचान स्थापित गर्न, कलाकारहरूको सिर्जनात्मक क्षमता उजागर गर्न र नेपाली कला-संस्कृतिलाई विश्वसामु पुर्‍याउन सहयोग गर्नेछ।

आज रेड कार्पेट र चलचित्र प्रदर्शन

फेस्टिभलअन्तर्गत आज रेड कार्पेट कार्यक्रम आयोजना हुँदैछ। रेड कार्पेटमा कलाकार तथा चलचित्रकर्मीहरूको सहभागिता रहनेछ भने विभिन्न चलचित्र प्रदर्शन गर्ने कार्यक्रमसमेत रहेको छ।

तीन दिनसम्म सञ्चालन हुने फेस्टिभलमा चलचित्र प्रदर्शन, सांस्कृतिक गतिविधि तथा विभिन्न सिर्जनात्मक कार्यक्रममार्फत नेपाली चलचित्र क्षेत्र र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गरिनेछ।

सम्पदा, संस्कृति र चलचित्रको संगम

काठमाडौं फिल्म फेस्टिभलले ऐतिहासिक सम्पदा क्षेत्रलाई सांस्कृतिक गतिविधिको केन्द्रका रूपमा विकास गर्ने प्रयास गरेको छ। चलचित्रलाई माध्यम बनाएर काठमाडौंको मौलिक संस्कृति, परम्परा, कला तथा सम्पदाको प्रचारप्रसार गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्पदा पदयात्रा, खुला सांस्कृतिक प्रस्तुति र चलचित्र प्रदर्शनको संयोजनले फेस्टिभललाई विशिष्ट पहिचान दिएको छ। सहभागी कलाकार तथा चलचित्रकर्मीहरूले यसले नेपाली चलचित्र क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै नेपालको सांस्कृतिक वैभवलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष परिचित गराउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *