‘फ्लीब्याग’की सिर्जनाकर्ता फिबी वालर–ब्रिजले नयाँ लेखकलाई लन्डनमा निःशुल्क आवास दिने

लन्डन । चर्चित बेलायती टेलिभिजन शृङ्खला ‘फ्लीब्याग’की सिर्जनाकर्ता, लेखिका तथा अभिनेत्री फिबी वालर–ब्रिजले करियरको सुरुवाती चरणमा रहेका लेखकलाई लन्डनमा निःशुल्क आवास उपलब्ध गराउने भएकी छन्।

४१ वर्षीया वालर–ब्रिजले नाटक लेखनमा नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको ‘राइटर्स ब्लक’ अभियानअन्तर्गत लन्डनस्थित एउटा फ्ल्याट खरिद गरी दान गरेकी हुन्। यो अभियानले आर्थिक रूपमा कमजोर पृष्ठभूमिका नाटककारलाई राजधानीमा आवासको खर्च धान्नुपर्ने चुनौतीबाट राहत दिने लक्ष्य राखेको छ।

वालर–ब्रिजले विशेषगरी लन्डनमा बस्न आर्थिक कठिनाइ भोगिरहेका नयाँ लेखकका लागि उक्त फ्ल्याट उपलब्ध गराएकी हुन्। अभियानलाई उनले आवाससँगै उल्लेखनीय आर्थिक सहयोगसमेत गरेकी छन्। फ्ल्याटमा बस्ने लेखकले भाडा तिर्नुपर्ने छैन, तर बिजुली, पानीलगायतका अन्य बिल भने आफैँले बेहोर्नुपर्नेछ।

यस अभियानमा ‘एडोलेसेन्स’का सहसिर्जनाकर्ता तथा लेखक ज्याक थोर्नले पनि आर्थिक सहयोग गरेका छन्। उनले ‘वन्डर’, ‘एनोल होम्स’ जस्ता चलचित्रका साथै चर्चित नाटक ‘ह्यारी पोटर एन्ड द कर्स्ड चाइल्ड’ लेखेका छन्।

आफ्नो सुरुवाती करियरको अनुभव सुनाउँदै थोर्नले भने, “म भाग्यमानी थिएँ। मेरा दाइ क्रोयडनमा बस्नुहुन्थ्यो र उहाँले मलाई आफ्नो घरमा राख्न सक्नुभयो।”

उनका अनुसार दाइले पाँच वर्षसम्म निःस्वार्थ रूपमा आफूलाई आश्रय दिएका थिए। त्यसपछि आफू लुटन सरेपछि दाइले पनि आफ्नो निजी जीवनमा सहजता पाएको उनले बताए।

“धेरै लेखकका लागि बस्ने ठाउँको अभावले लेख्नै असम्भव बनाइदिन्छ। त्यसैले यो परीक्षण परियोजना अत्यन्त महत्त्वपूर्ण छ। हाम्रो जटिल संसारका कथा सुनाउन सबै वर्ग र पृष्ठभूमिका लेखकले लेख्न पाउनुपर्छ,” थोर्नले भने।

उनले आर्थिक रूपमा सम्पन्न व्यक्तिका लागि लेखनमा के लेख्ने भन्ने समस्या हुने भए पनि विपन्न पृष्ठभूमिका लेखकका लागि भने जीवन धान्ने संघर्ष नै ठूलो चुनौती हुने उल्लेख गरे।

वर्गीय विभेद हटाउने प्रयास

‘राइटर्स ब्लक’ अभियानलाई नाटककार तथा पटकथा लेखक जेम्स ग्राहम, ‘ह्याप्पी भ्याली’की सिर्जनाकर्ता स्याली वेनराइट र ‘द क्राउन’का लेखक पिटर मोर्गनले पनि सहयोग गरेका छन्।

वालर–ब्रिजका जीवनसाथी मार्टिन म्याकडोनाघ पनि अभियानमा सहभागी छन्। उनी ‘द बन्सिज अफ इनिशेरिन’ र ‘थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिसौरी’ जस्ता ओस्कार तथा बाफ्टा पुरस्कार विजेता चलचित्रका लेखक तथा निर्देशक हुन्।

लेखक ग्राहमले यो अभियानले बेलायती लेखन क्षेत्रमा विद्यमान वर्गीय विभेदलाई सम्बोधन गर्ने बताए। उनका अनुसार आर्थिक अभावका कारण प्रतिभाशाली लेखकले आफ्नो करियर नै त्याग्नुपर्ने अवस्थालाई यसले रोक्न सहयोग गर्नेछ।

“लेखन क्षेत्रमा प्रतिनिधित्व र समावेशिता बढाउने प्रयास भइरहे पनि सबैभन्दा बढी प्रतिनिधित्वको अभाव रहेको वर्गीय पृष्ठभूमिलाई अझै बेवास्ता गरिएको छ,” ग्राहमले भने।

लन्डन पुगेपछि आफू साथीहरूको घरमा भुइँमा सुतेर तथा कल सेन्टर र बारमा काम गर्दै लेखनलाई निरन्तरता दिएको अनुभव सुनाउँदै उनले भने, “यस्ता योजनाले नयाँ लेखकलाई उपलब्ध गराउने प्रत्येक अतिरिक्त कोठाले उनीहरूलाई लेख्न मात्र सहयोग गर्दैन, करियरबाट पूर्ण रूपमा पलायन हुनबाट समेत जोगाउँछ।”

पुरानो पहलबाट नयाँ अभियान

‘राइटर्स ब्लक’ सन् २००८ मा सुरु भएको ‘एडप्ट अ प्लेराइट अवार्ड’ पहलबाट विकसित भएको हो। उक्त पहलले आर्थिक रूपमा कमजोर पृष्ठभूमिका लेखकलाई लन्डनमा बैठक, रिहर्सल, प्रदर्शन तथा करियरका अवसरका लागि आउँदा किफायती आवास उपलब्ध गराउँदै आएको छ।

यी दुवै योजनाको स्थापना सोफी मेसन र डायना जर्भिस–रीडले गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *