बाढीपहिरोको जोखिम क्षेत्रमा जथाभावी बेलिब्रिज राख्नु घातक : महानिर्देशक जैसी
काठमाडौं, २० कात्तिक । सडक विभागका महानिर्देशक डा. विजय जैसीले बाढीपहिरोको जोखिम भएका क्षेत्रमा जथाभावी बेलिब्रिज राख्नु घातक हुन सक्ने चेतावनी दिएका छन्।
‘हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समितिको शुक्रबार बसेको बैठकमा उनले यस्तो बताएका हुन्।
बेलिब्रिज निर्माण तथा व्यवस्थापनका प्राविधिक कठिनाइबारे जानकारी गराउँदै महानिर्देशक जैसीले बेलिब्रिज राख्न हतार गर्न नहुने बताए। उनका अनुसार धेरै ठाउँमा नयाँ बेलिब्रिज राख्नुभन्दा पहिले नै निर्माण भएका पुलका पहुँच सडक (एप्रोच) सुधार गर्नु दीर्घकालीन र सुरक्षित विकल्प हुन सक्छ।
उनले भने, “हामीले बेलिब्रिज राख्न हतारिनु हुँदैन । धेरै ठाउँमा बेलिब्रिज राख्नुभन्दा भएका पुलहरूको एप्रोच सडक सुधार गर्दा दीर्घकालीन र सुरक्षित हुन्छ । नत्र, बर्खायामको बाढीले संरचना बगाउने निश्चित छ।”
जैसीका अनुसार बेलिब्रिज निर्माण गर्दा बलियो जग आवश्यक पर्छ। त्यसको सुरक्षा सुनिश्चित गर्न उच्च प्राविधिक सतर्कता अपनाउनुपर्ने हुन्छ।
रसुवागढी नाकाको उदाहरण दिँदै उनले बेलिब्रिज निर्माणमा ठूलो खर्च र लामो समय लाग्ने बताए। साथै, बर्खायाम सुरु हुनुअघि नै यस्ता अस्थायी संरचना हटाउनुपर्ने बाध्यताले थप आर्थिक भार र प्राविधिक जटिलता सिर्जना गर्ने उनको भनाइ छ।
विभागले नियम र बजेटको सुनिश्चितता नभएको अवस्थामा पनि आपत्कालीन परिस्थितिमा काम गर्दै आएको उनले बताए। मालढुङ्गा र आरुघाट पुलको समस्या पनि बजेट अभावकै बीच समाधान गरिएको उल्लेख गर्दै जैसीले बेलिब्रिज राख्ने निर्णय गर्दा त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित विपद्को जिम्मेवारीसमेत विचार गर्नुपर्ने बताए।
