भदौ २३ र २४ गते जेनजी आन्दोलनका नाममा नेपालमाथि आक्रमण भयो’ : महेश बस्नेत

भक्तपुर, कात्तिक २३ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले भदौ २३ र २४ गते जेनजी आन्दोलनका नाममा नेपालमाथि आक्रमण भएको दाबी गरेका छन्।

एमाले भक्तपुर जिल्ला कमिटीले शुभ तिहार, नेपाल संवत् ११४७ न्हूदँ तथा छठ पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा तुच्चा कार्यक्रममा बोल्दै बस्नेतले आन्दोलनका क्रममा नेपाली जनता झुक्किएको भए पनि अहिले घटनाको वास्तविकता बुझ्न थालेको दाबी गरे।

उनले एमाले नै विकास, समृद्धि र राष्ट्रियताको अभियान अघि बढाउने राजनीतिक शक्ति भएको दाबी गर्दै केपी शर्मा ओली नेतृत्वले मुलुकमा विकास र समृद्धिको आधार तयार गरेको बताए।

बस्नेतले मनमोहन अधिकारी नेतृत्वको सरकारदेखि ओली नेतृत्वका सरकारसम्म एमालेले विकासको जग निर्माण गरेको दाबी गरे। भारतले लगाएको नाकाबन्दीको सामना गरेको, चीनसँग व्यापारिक सम्झौता गरेको तथा नेपालको मिचिएको भूमि समेटेर चुच्चे नक्सा जारी गरेको विषयलाई उनले ओली सरकारका प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरे।

उनले भने, ‘भदौ २३ र २४ गते जेनजी आन्दोलनका नाममा नेपालमाथि आक्रमण भयो। नेपाली जनता त्यसबेला झुक्किए, तर अब क्रमशः नेपाली जनताको आँखा खुल्दै गएको छ।’

बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेप्रति पनि आलोचना गरे। यसअघि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै आवाज उठाउनेहरू अहिले सरकारी संरचना ध्वस्त पार्ने र जनतालाई लुट्ने काममा को संलग्न छन् भन्ने विषय बुझ्न थालेको उनको दाबी थियो।

दीपक भट्ट र इनाम सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै बस्नेतले उनीहरूबारे सार्वजनिक भएका विषयमा अनुसन्धान हुनुपर्ने संकेत गरे। प्रधानमन्त्री निवासमा भेटिएको सुनको प्रसंग उठाउँदै उनले त्यसको स्रोतबारे समेत प्रश्न गरे।

ओली नेतृत्वको सरकारको कार्यकाललाई विकासको ‘स्वर्णिम युग’को संज्ञा दिँदै उनले ओली नेतृत्वले निरन्तरता पाएको भए मुलुक विकासको यात्रामा अझै अगाडि पुगिसक्ने दाबी गरे।

संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, धरहरा र रानीपोखरीलगायतका संरचनाको निर्माण तथा पुनर्निर्माणमा ओली नेतृत्वको सरकारको योगदान रहेको दाबी गर्दै बस्नेतले वर्तमान राजनीतिक नेतृत्वप्रति पनि आलोचना गरे।

उनले राजनीतिक आवरणमा लुकेका गलत प्रवृत्तिको पर्दाफास गर्नुपर्नेमा जोड दिँदै राष्ट्रियता, स्वाधीनता र राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने अभियानलाई एमालेले थप सशक्त बनाउने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *