व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड
पोखरा, १२ मङ्सिर । सङ्घीय संसद् तथा प्रदेशसभाका सचिवहरूको पोखरामा सुरु भएको अन्तरक्रिया एवं अनुभव आदान–प्रदान कार्यक्रममा व्यवस्थापिकाको भूमिकालाई थप सबल र प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । गण्डकी प्रदेशसभा सचिवालयको आयोजनामा शुक्रबारदेखि सुरु भएको कार्यक्रमका वक्ताहरूले कानुन निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने औँल्याएका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभाहरूले थुप्रै कानुन निर्माण गरे पनि तिनको कार्यान्वयन अवस्था र संशोधनको आवश्यकतामाथि गम्भीर समीक्षा गर्ने बेला आएको बताउनुभयो । व्यवस्थापिकाको क्षेत्राधिकारलाई कमजोर बनाउने र खुम्चाउने प्रयास हुन सक्नेतर्फ सचेत गराउँदै उहाँले सङ्घीय संसद् र प्रदेशसभाहरूले आफ्नो भूमिका अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो । कानुनलाई आफू अनुकूल व्याख्या गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै सभामुख धितालले संविधान र कानुनको पूर्ण पालना गराउन व्यवस्थापिकाको निगरानी महत्वपूर्ण हुने धारणा राख्नुभयो ।
यस्तै, सङ्घीयता विज्ञ डा. खिमलाल देवकोटाले संविधानको मुख्य आधारस्तम्भ सङ्घीयता भएकाले यसको संरक्षण र संवर्द्धनमा सङ्घीय संसद् तथा प्रदेशसभाहरू सँगसँगै अगाडि बढ्नुपर्ने बताउनुभयो । यस्ता कार्यक्रमले असल संसदीय अभ्यासको आदानप्रदान गरी प्रदेशसभाको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने उहाँको विश्वास छ ।
गण्डकी प्रदेशसभाका सचिव गोविन्द पौडेलले विधायिकी प्रक्रिया र कानुन निर्माणमा एकरूपता ल्याउँदै बनेका कानुनको प्रभावकारिता परीक्षण (उत्तरविधायिकी परीक्षण) गर्नुपर्ने बताउनुभयो । सचिवहरूको नियमित संवादले आपसी समन्वय बलियो बनाउनुका साथै विगतका घोषणापत्र कार्यान्वयनमा सघाउ पुग्ने उहाँको भनाइ छ । कार्यक्रममा वित्तीय सङ्घीयता र प्रदेशसभाको स्वायत्तताका विषयमा समेत गहन छलफल हुने सचिव पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा सङ्घीय संसद् र सातवटै प्रदेशसभाका सचिव तथा उच्चपदस्थ कर्मचारीहरूको सहभागिता रहेको छ ।
