थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ फूलको डोली
अग्लो डाँडाको थुम्कोमा रहेको यस मन्दिरमा पूजा, आराधना र भाकल गर्न तनहुँसहित देशका विभिन्न स्थानबाट भक्तजन पुग्ने गरेका छन् । पछिल्लो समय मन्दिर धार्मिक आस्थाको महत्त्वपूर्ण केन्द्रका रूपमा विकसित हुँदै गएको छ ।
दमौली (तनहुँ), २५ कात्तिक । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा कात्तिकको तेस्रो मङ्गलबार एकै दिन ९१ वटा फूलको डोली भित्रिएका छन् । कात्तिकका दुई मङ्गलबारमा मात्रै मन्दिरमा ९३ वटा डोली चढाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले जानकारी दिए ।
अध्यक्ष थापाका अनुसार तेस्रो मङ्गलबार ९१ र चौथो मङ्गलबार दुईवटा डोली चढाइएको हो । उक्त अवधिमा दश हजारभन्दा बढी भक्तजनले मन्दिर पुगेर पूजाआजा गरेका थिए । कात्तिकको पहिलो मङ्गलबार महानवमी परेकाले डोली नआएको र दोस्रो मङ्गलबार पनि डोली चढाउने क्रम नभएको उनले बताए । चौथो मङ्गलबार भने तिहारका कारण दुईवटा मात्र डोली आएका थिए ।
अग्लो डाँडाको थुम्कोमा रहेको यस मन्दिरमा पूजा, आराधना र भाकल गर्न तनहुँसहित देशका विभिन्न स्थानबाट भक्तजन पुग्ने गरेका छन् । पछिल्लो समय मन्दिर धार्मिक आस्थाको महत्त्वपूर्ण केन्द्रका रूपमा विकसित हुँदै गएको छ ।
वर्षका सात महिना डोली चढाइन्छ
थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा यहाँको धार्मिक संस्कृतिको विशिष्ट पक्ष हो । प्रत्येक वर्ष वैशाख, असोज, कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाका मङ्गलबार विशेष रूपमा डोली चढाइन्छ ।
अध्यक्ष थापाका अनुसार थानीमाईमा फूलको डोली चढाउँदा मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण भक्तजन वर्षौंदेखि यहाँ आउने र भाकल पूरा भएपछि पुनः डोली चढाउन आउने परम्परा छ । भक्तजनले डोली चढाउनुअघिल्लो दिन सोमबार सत्यनारायणको पूजा गरी डोली तयार पार्छन् । भाकलअनुसार फूल, तोरण र अन्य सामग्रीसहित तयार गरिएको डोली लिएर मङ्गलबार बिहानैदेखि उनीहरू मन्दिर पुग्छन् ।
पञ्चैबाजाको तालमा मन्दिर परिक्रमा
डोली चढाउने दिन भक्तजनहरू फूलको डोली र पञ्चैबाजासहित नाचगान गर्दै मन्दिरको तीनपटक परिक्रमा गर्छन् । पञ्चैबाजा, नाचगान र थानीमाईको जयजयकारले बसन्तपुर क्षेत्र गुञ्जायमान बन्ने गर्छ ।
परिक्रमापछि माथिल्लो थुम्कामा रहेको मन्दिर परिसरका देवलहरूमा डोलीसँगै लगिएको तोरण तीन फन्का घुमाएर बाँधिन्छ । त्यसपछि भक्तजन मन्दिरभित्र प्रवेश गरी मनोकामना पूरा भएको भन्दै पूजा तथा आराधना गर्छन् ।
मन्दिरमा साउन महिना, एकादशी र औँसीबाहेकका दिन नियमित पूजाआजा हुँदै आएको छ । तर डोली चढाउने विशेष महिनाका मङ्गलबार भने भक्तजनको चाप बढी हुने गरेको छ ।
धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्य
समुद्री सतहबाट करिब १ हजार २ सय मिटरको उचाइमा रहेको थानीमाई मन्दिर प्राकृतिक सौन्दर्यका हिसाबले पनि आकर्षक गन्तव्य हो । मन्दिर परिसरबाट गोरखाको लक्ष्मी बजार, लिगलिगकोट, पालुङटार, लमजुङको राइनासकोटलगायत क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । मौसम खुलेका बेला टाढासम्म फैलिएका हिमशृङ्खलाको दृश्यले पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ ।
पछिल्लो समय धार्मिक स्थललाई पर्यटनसँग जोड्ने प्रयास भइरहेका बेला थानीमाई मन्दिरलाई पनि धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ । विशेषगरी डोली चढाउने दिन हुने भक्तजनको उपस्थिति र सांस्कृतिक गतिविधिले स्थानीय क्षेत्रको पहिचान विस्तार गर्न सहयोग पुगेको छ ।
इतिहास र किंवदन्ती
मन्दिरको इतिहास स्थानीय जनविश्वास र किंवदन्तीसँग जोडिएको छ । स्थानीयका अनुसार वि.सं. १८२५ देखि यहाँ पूजाआजा सुरु भएको मानिन्छ । किंवदन्तीअनुसार त्यसबेला एक भोटीनी आमा र उनकी छोरी मन्दिर रहेको स्थानमा पुगेका थिए । ठूलो हावाहुरी चलेपछि उनीहरू एउटा रुखमुनि ओत लागेका थिए र सोही क्रममा त्यहीँबाट अन्तर्ध्यान भएको जनश्रुति रहिआएको छ । त्यसपछि उक्त स्थानलाई धार्मिक शक्तिसँग जोडेर पूजा गर्न थालिएको स्थानीयको भनाइ छ । पुस्तौँदेखि सुनिँदै आएको यो किंवदन्तीले मन्दिरको धार्मिक महत्त्वलाई थप विशेष बनाएको छ ।
वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पबाट मन्दिरमा क्षति पुगेको थियो । क्षतिपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरमा चढाइएको भेटीबाट सङ्कलित रु ६ लाखको लागतमा मन्दिर पुनर्निर्माण गरिएको हो ।
