कैलालीमा १५ हजार ८५२ क्विन्टल धान खरिद, कोटा घटाउँदा किसान प्रभावित हुने चिन्ता

धनगढी, ९ मङ्सिर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका विभिन्न छवटा खरिद उपकेन्द्रमार्फत किसानबाट १५ हजार ८५२ दशमलव २७ क्विन्टल धान खरिद गरेको छ ।

कार्यालय प्रमुख दीपक थापाका अनुसार मङ्सिर १ गतेदेखि सुरु भएको खरिद प्रक्रियाअन्तर्गत सरकारले चालू आर्थिक वर्ष २०८३/८४ का लागि तोकेको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ६६० का दरले मोटा धान खरिद भइरहेको हो ।

चालू आवमा कैलालीका लागि ३० हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरिएको छ । गत वर्ष ३५ हजार क्विन्टल कोटा रहेकामा यस वर्ष पाँच हजार क्विन्टल कटौती गरिएको हो । समर्थन मूल्यमा धान बिक्री गर्न पाउँदा किसानलाई राहत मिले पनि खरिद कोटा घटाइँदा सरकारी प्रणालीबाट लाभान्वित हुने किसानको सङ्ख्या खुम्चिने देखिएको छ ।

उपकेन्द्रअनुसार खरिद विवरण कम्पनीले जिल्लाका मोहनपुर, टीकापुर, सत्ती, गौरीगङ्गा, भजनी र जोशीपुर उपकेन्द्रबाट धान सङ्कलन गरिरहेको छ । हालसम्मको खरिद विवरण यस्तो छः

  • मोहनपुर: ३,९७०.३७ क्विन्टल

  • सत्ती: ३,०६६.३५ क्विन्टल

  • टीकापुर: २,६७५.४६ क्विन्टल

  • भजनी: २,३९०.५० क्विन्टल

  • जोशीपुर: २,०९७.४९ क्विन्टल

  • गौरीगङ्गा: १,६५२.१० क्विन्टल

कोटा थपको मागले कञ्चनपुरमा खरिद अन्योल यसैबीच, कञ्चनपुरमा धान खरिदको कोटा बढाउन माग गरिएपछि खरिद प्रक्रिया नै सुरु हुन सकेको छैन । कञ्चनपुरका लागि यस वर्ष आठ हजार क्विन्टल मोटा धान खरिद गर्ने कोटा तोकिएको छ ।

तर, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको प्राथमिक खरिद समितिले कोटा अपुग भएको भन्दै २० हजार क्विन्टल पुर्‍याउन माग गरेको छ । कार्यालय प्रमुख थापाका अनुसार समितिको गत कात्तिक २० गतेको निर्णयबमोजिम कोटा थपका लागि केन्द्रमा पहल भइरहेको र निर्णय आउनासाथ खरिद प्रक्रिया अघि बढाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *