रोमानिया पुगेका करिब ६ सय नेपाली श्रमिक सम्झौता अनुसार नभएपछि आन्दोलित
काठमाडौँ, ८ मङ्सिर । रोमानिया पुगेका करिब ६ सय नेपाली श्रमिक सम्झौताअनुसार काम, पारिश्रमिक तथा सेवा–सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । युरोपको आकर्षक रोजगारीको सपना बोकेर त्यहाँ पुगेका श्रमिकको गुनासोपछि सरकारले समस्या समाधानका लागि कूटनीतिक तथा प्रशासनिक पहल अघि बढाउनुका साथै नेपालबाट श्रमिक पठाउने प्रक्रियामा संलग्न म्यानपावर कम्पनीमाथि अनुसन्धान सुरु गरेको छ ।
रोमानियास्थित बिसार लजिस्टिक एसआरएल कम्पनीमा कार्यरत नेपाली श्रमिक शनिबारदेखि आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले कम्पनी परिसरबाहिर भेला भएर ‘वि वान्ट जस्टिस’ भन्दै नाराबाजी गरेका छन् । श्रमिकको मुख्य गुनासो नियमित काम नपाउनु, सम्झौताअनुसार पारिश्रमिक नपाउनु र सेवा–सुविधामा अनियमितता हुनु रहेको छ ।
रोजगारीका लागि रोमानिया पुगेका श्रमिकले नेपालबाट प्रस्थान गर्नुअघि प्रतिव्यक्ति १० देखि १२ लाख रुपैयाँसम्म खर्च गरेको बताएका छन् । यति ठूलो रकम ऋण लिएर विदेश पुगे पनि नियमित काम नपाउँदा ऋण तिर्न र दैनिक खर्च धान्नसमेत कठिन भएको उनीहरूको गुनासो छ ।
