पोखरामा ‘सार्वजनिक जीवनमा महिला’ तस्बिर प्रदर्शनी सुरु

प्रदर्शनीलाई ‘जनतामाझ महिला’, ‘महिलाका रचना’, ‘टुकी मुनिको उज्यालोमा पढ्दै’, ‘महिलाका लागि महिला’ लगायत विभिन्न खण्डमा विभाजन गरिएको छ । प्रत्येक तस्बिरसँगै त्यसको ऐतिहासिक सन्दर्भ र पृष्ठभूमि समेत उल्लेख गरिएको छ ।

पोखरा, १० मङ्सिर । इतिहासका विभिन्न कालखण्डमा न्याय, मुक्ति र समानताका लागि नेपाली महिलाले गरेका सङ्घर्ष तथा योगदानलाई उजागर गर्ने उद्देश्यले पोखरामा बुधबारदेखि तस्बिर प्रदर्शनी सुरु भएको छ ।

फोटो सर्कलअन्तर्गत नेपाल पिक्चर लाइब्रेरीको आयोजनामा लेकसाइडस्थित बाराहीघाटमा ‘सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल’ शीर्षकमा प्रदर्शनी सुरु गरिएको हो । प्रदर्शनीमा राजनीति, शिक्षा, साहित्यलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका नेपाली महिलाको जीवनगाथा र सङ्घर्ष झल्काउने तस्बिरहरू समावेश गरिएका छन् ।

प्रदर्शनीका समन्वय संयोजक सम्झना नेपालीका अनुसार प्रदर्शनीमा चार सयभन्दा बढी तस्बिर राखिएका छन् । महिलाको इतिहास, सङ्घर्ष र योगदानलाई सार्वजनिक स्मृतिमा स्थापित गर्ने लक्ष्यसहित नेपाल पिक्चर लाइब्रेरीको सङ्ग्रहबाट महिला आन्दोलन र सशक्तीकरणसँग जोडिएका तस्बिरहरू छनोट गरी प्रस्तुत गरिएको उहाँले जानकारी दिनुभयो ।

संयोजक नेपालीले भन्नुभयो, “सार्वजनिक जीवनमा महिलाको भूमिका, योगदान र सङ्घर्षलाई तस्बिर–कथामार्फत देखाउन खोजिएको छ । यसले महिला इतिहासलाई संरक्षित गर्दै महिलावादी अठोटलाई कायम राख्न मद्दत पुर्‍याउने हाम्रो विश्वास छ ।”

प्रदर्शनीलाई ‘जनतामाझ महिला’, ‘महिलाका रचना’, ‘टुकी मुनिको उज्यालोमा पढ्दै’, ‘महिलाका लागि महिला’ लगायत विभिन्न खण्डमा विभाजन गरिएको छ । प्रत्येक तस्बिरसँगै त्यसको ऐतिहासिक सन्दर्भ र पृष्ठभूमि समेत उल्लेख गरिएको छ ।

तस्बिर–कथामा राणा शासनकालमा महिलाले गरेका सङ्घर्षदेखि माओवादी जनयुद्धका क्रममा महिलाले दिएका बलिदानसम्मका विषय समेटिएका छन् ।

आगामी शनिबारसम्म चल्ने यो प्रदर्शनी यसअघि वीरगन्ज, जनकपुर, नेपालगन्ज र सुर्खेतलगायत सहरमा पनि सम्पन्न भइसकेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *